घोराहीमा ज्ञानज्योति एजुकेसनका विद्यार्थीद्वारा बजारमा ‘मःम स्टल’ सञ्चालन, व्यवहारिक शिक्षामा जोड

घोराही, फागुन १ । घोराही उपमहानगरपालिका–१३, डुमुरगाउँ मा अवस्थित ज्ञानज्योति एजुकेसन एकेडेमी का विद्यार्थीहरूले व्यवहारिक शिक्षालाई केन्द्रमा राख्दै स्थानीय बजारका विभिन्न चोकमा मःम बिक्री कार्यक्रम सञ्चालन गरेका छन्। विद्यालयले अध्ययनसँगै सीप र उद्यमशीलता विकास गर्ने लक्ष्यसहित अघि सारेको व्यवहारिक तथा व्यावसायिक शिक्षा कार्यक्रम अन्तर्गत ‘ज्ञानज्योति मम स्टल’ सञ्चालन गरिएको हो।

No description available.

कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूले समूह बनाएर आफैँ मःम तयार गर्ने, बिक्री तथा ग्राहक व्यवस्थापन गर्ने र आम्दानीको हिसाब–किताब राख्ने जिम्मेवारी सम्हालेका थिए। दिनभर चलेको उक्त गतिविधिबाट प्रत्येक स्टलले तीन हजारदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी कक्षा ८ की छात्रा करुणा केसी ले यस्ता अभ्यासले पढाइसँगै आत्मविश्वास बढाउनुका साथै भविष्यमा व्यवसाय गर्ने सोच विकास भएको बताइन्। उनले कक्षाकोठामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न पाएको अनुभव पनि साझा गरिन्।

त्यसैगरी कक्षा ८ कै छात्रा स्मृति रोका ले समूहमा काम गर्दा सहकार्य, जिम्मेवारी बोध र समय व्यवस्थापन जस्ता सीप सिक्न पाएको बताइन्। विद्यार्थीहरूले तयार पारेको मःमप्रति ग्राहकको राम्रो प्रतिक्रिया आएको उनको भनाइ थियो।

कार्यक्रम संयोजक शिक्षक नवीन आचार्य ले विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप विकासमा विशेष जोड दिँदै आएको बताए। यस्ता गतिविधिले विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै भविष्यका लागि उद्यमशील सोच तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस