गुरुकुल एकेडेमी घोराहीमा बैंकिङ सचेतना कार्यक्रम सम्पन्न

घोराही, ११ चैत । गुरुकुल एकेडेमी, घोराहीले प्लस टु व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूका लागि बैंकिङ सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यार्थीहरूलाई बैंकिङ प्रणालीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास बैंकका पूर्व शाखा प्रमुख युवराज भण्डारीले प्रमुख वक्ताका रूपमा सहजीकरण गर्नुभएको थियो।

भण्डारीले बैंकिङ क्षेत्रका आधारभूत अवधारणा, बचत तथा लगानीको महत्व, ऋण लिने प्रक्रिया, ब्याजदरको प्रभाव, डिजिटल बैंकिङको प्रयोग तथा साइबर सुरक्षाजस्ता विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल बैंकिङको प्रयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको सुरक्षित प्रयोगबारे सचेत रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

उहाँले सानै उमेरदेखि बचत गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिँदै वित्तीय अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, बैंकिङ क्षेत्र रोजगारीका हिसाबले आकर्षक र सम्भावनायुक्त भएकाले यसतर्फ विद्यार्थीहरूले करियर योजना बनाउन सक्ने सुझाव पनि दिनुभयो।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी नैना बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, व्यवस्थापन संकायका विद्यार्थीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले बैंकिङसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। प्रस्तुतकर्ताले ती जिज्ञासाहरूको स्पष्ट र व्यवहारिक जवाफ दिँदै विद्यार्थीहरूको ज्ञान विस्तार गर्नुभएको थियो। अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको देखिएको थियो।

प्लस टु संयोजक राजन अधिकारीले विद्यालयले पाठ्यक्रमसँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई वास्तविक जीवनमा आवश्यक पर्ने सीप तथा ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछन्।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्तो ज्ञानमूलक कार्यक्रमले बैंकिङ क्षेत्रबारे स्पष्ट धारणा बनाउन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए। विद्यालयले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस