घाेराही, साउन १ । नेपाली तीज गीत–सङ्गीतमा नयाँ स्वाद थप्दै गायिका दीपिका बयाम्बु मगरको स्वरमा सजिएको नयाँ तीज गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’ सार्वजनिक भएको छ। गीत गोविन्द अनेकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
लोकलय र समसामयिक भावनालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको यस गीतले अविवाहित युवतीले समाजमा भोग्नुपर्ने जिज्ञासा, टिप्पणी, सामाजिक दबाब तथा विवाहप्रतिको आफ्नै चाहनालाई रोचक शैलीमा अभिव्यक्त गरेको छ। गीतका शब्दहरू सरल, मौलिक र जनजीवनसँग नजिक भएकाले श्रोता–दर्शकको मन छुने विश्वास गरिएको छ।
गीतमा शब्द, संगीत, एरेन्ज, रेकर्डिङ तथा रेकर्डिस्टको भूमिका गोविन्द अनेकले निर्वाह गरेका छन्। कमल थापा मगरले प्रि–मिक्सिङ, श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने गीतको अडियो प्रिज्म स्टुडियोमा तयार गरिएको हो।
गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। सञ्चिता बोलाखे, सुप्रिति बिक र मनोज बिक को जीवन्त अभिनय र नृत्यले भिडियोमा थप आकर्षण थपेको छ। बुद्ध थापाको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन, माधव राउतको प्रोडक्सन व्यवस्थापन तथा एडभेन्चर इन्टरटेनमेन्टको पोस्ट–प्रोडक्सनले भिडियोको गुणस्तरलाई अझ प्रभावशाली बनाएको छ।
गीतमा ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’ भन्ने मुख्य भावलाई केन्द्रमा राख्दै विवाह नभएका युवतीहरूले समाजबाट पटक–पटक सामना गर्नुपर्ने प्रश्न, उनीहरूको मनोभाव, भविष्यका सपना तथा प्रेम र वैवाहिक जीवनप्रतिको चाहनालाई रमाइलो, व्यङ्ग्यात्मक र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। यही कारणले गीतले तीजको सांस्कृतिक माहोलसँगै मनोरञ्जन र सामाजिक सन्देशलाई पनि सन्तुलित रूपमा समेटेको छ।
मधुर स्वर, सशक्त प्रस्तुति, आकर्षक छायाङ्कन तथा मौलिक कथावस्तुका कारण यो गीत यस वर्षको तीजमा दर्शक–श्रोताको रोजाइ बन्ने अपेक्षा गरिएको छ। तीजको उल्लासमय वातावरणलाई थप रौनक बनाउने यस गीतले नेपाली लोक–तीज संगीतको निरन्तरता र मौलिकतालाई समेत मजबुत बनाएको छ।
पुरा भिडियाेः



