रोल्पाको जनकल्याण माध्यमिक विद्यालयका ४२० विद्यार्थीलाई जाडोका पोसाक र शैक्षिक सामग्री वितरण

रोल्पा,

रोल्पाको त्रिवेणी गाउँपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयका ४२० जना विद्यार्थीलाई जाडोका पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। दक्षिण कोरियास्थित उम होङ गिल ह्युमन फाउन्डेसन (UHGHF) ले बिहीबार विद्यालयमा आयोजित एक समारोहबीच विद्यार्थीहरूलाई जाडोका पोसाक, कापी तथा स्टेशनरी सामग्री वितरण गरेको हो।

फाउन्डेसनले विद्यालयको पुस्तकालयका लागि पुस्तकसमेत उपलब्ध गराएको छ। कार्यक्रममा ७०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा नेपाल र दक्षिण कोरियाका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष लेखमणि डाँगी सहभागी भएका थिए ।

कार्यक्रममा दक्षिण कोरियाको डेगु मेट्रोपोलिटन कार्यालयका पूर्व शिक्षा गभर्नर तथा क्याथोलिक विश्वविद्यालयका पूर्व अध्यक्ष उ डोङ गीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घर्तीले गरेका थिए। कार्यक्रममा बोल्दै पूर्व शिक्षा गभर्नर उ डोङ गीले विद्यालय निर्माणदेखि हालसम्म संस्थाले गर्दै आएको सहयोगबारे चर्चा गर्दै विद्यालयको प्रगति देख्दा खुसी लागेको बताए।

उनले सामुदायिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गरे। त्यस्तै, फाउन्डेसनका कार्यकारी निर्देशक क्याप्टेन उम होङ गिलले विद्यार्थीहरूलाई मेहनत र लगनशीलताका साथ आफ्नो लक्ष्य प्राप्त गर्न प्रेरित गरेका थिए।

विद्यार्थी प्रतिनिधि प्रोमिस घर्ती मगरले सहयोगले विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको भन्दै फाउन्डेसन र उ डोङ गीप्रति आभार व्यक्त गरेका थिए। डेगु मेट्रोपोलिटन शिक्षा कार्यालयले सन् २०१६ देखि विद्यालयलाई सहयोग गर्दै आएको छ। उक्त सहयोगबाट विद्यालय भवन निर्माण सुरु भई सन् २०१८ मा सम्पन्न भएको थियो।

त्यसयता पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर सहयोग हुँदै आएको फाउन्डेसनले जनाएको छ। सन् २००८ मा दक्षिण कोरियामा स्थापना भएको गैरनाफामूलक संस्था उम होङ गिल ह्युमन फाउन्डेसनले सन् २००९ देखि नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

फाउन्डेसनले हालसम्म नेपालका १९ वटा मानव विद्यालयलाई सहयोग गरिसकेको छ भने आगामी परियोजना कर्णाली प्रदेशको सुर्खेतबाट सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस