दाङ । मगर समुदायको भाषा संस्कृति संस्कार परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा मगर साझा घर निर्माण सहयोगार्थ प्रशिक्षण एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा २०८३ साल कार्तिक १८ र १९ गते घोराहीस्थित सभाहलमा कार्यक्रम सञ्चालन हुने नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुन मगरले जानकारी दिनुभएको छ।
अध्यक्ष पुन मगरका अनुसार मगर समुदायको मौलिक भाषा संस्कार संस्कृति कला भेषभूषा तथा परम्पराको संरक्षण संवर्द्धन र पुस्तान्तरण गर्नुका साथै मगर साझा घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा मगर संस्कारसम्बन्धी प्रशिक्षणका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यसले मगर समुदायको मौलिक पहिचानलाई थप उजागर गर्नुका साथै समुदायबीच आपसी एकता सद्भाव र सहकार्य अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष पुन मगरले बताउनुभयो।
नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति र घोराही नगर समितिको सहआयोजनामा सञ्चालन हुने कार्यक्रमको व्यवस्थापन सम्पूर्ण मगर समाजहरूले गर्नेछन्।
मगर समुदायको पहिचान भाषा संस्कृति र एकतालाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।


