काठमाडौं,
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती पहिलो पटक मधेश प्रदेशमा आयोजना हुने भएको छ। यही असोज २२, २३ र २४ गते बर्दिबास स्थित गौरीडाँडा खुला मञ्चमा महाधिवेशन आयोजना गर्न लागिएको हो। महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरले जानकारी दिइन्।
शुक्रबार बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मगरले प्रतिष्ठानको २५ वर्षे यात्राको महत्वपूर्ण अवसरका रूपमा यस पटक मधेश प्रदेशमा महाधिवेशन आयोजना गर्न लागिएको बताइन्। लोक संस्कृतीको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनले प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको विगतको समीक्षा र आगामी कार्यदिशा बारे महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिती रहने प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार, स्रष्टा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा लोक संस्कृतीप्रेमीहरूको उल्लेख्य सहभागिता रहनेछ। करिब ५० हजार सदस्य आबद्ध रहेको प्रतिष्ठानले मधेशमा महाधिवेशन आयोजना गर्नुलाई नेपाली लोक संस्कृतीको भौगोलिक विस्तारसँगै मधेश प्रदेशको मौलिक लोक संस्कृतीसँगको सम्बन्धलाई थप बलियो बनाउने अवसरका रूपमा लिएको छ।
रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा महत्वपूर्ण योगदान पुर्याएका अग्रज स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ। प्रतिष्ठानले महाधिवेशन मार्फत लोक तथा दोहोरी गीत क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमबारे समेत छलफल गर्ने जनाएको छ।


