रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिका–२, राङ्सीमा आयोजित ‘राङ्सी सिर्जना उत्सव–२०८३’ का अवसरमा साहित्यकार शोभाराम ओलीको मुक्तक सङ्ग्रह ‘प्रेमाङ्कुर’ विमोचन गरिएको छ। साहित्य, सिर्जना र विचारको सङ्गमका रूपमा आयोजित उत्सवमा कृति विमोचनसँगै साहित्यिक रचना वाचन, पुस्तक समीक्षा तथा साहित्य र संस्कृतिसम्बन्धी बहससमेत गरिएको थियो।
समकालीन जीवन, समयका विडम्बना, वर्तमानका विसङ्गति तथा भविष्यप्रतिको सपना र आशालाई समेटिएको ‘प्रेमाङ्कुर’ मा प्रेम, प्रतीक्षा, भेटको खुसी, विछोडको पीडा, सम्झना, सम्बन्धभित्रका प्रश्न, विश्वास–अविश्वास, समर्पण र चोटजस्ता जीवनका विविध अनुभूतिलाई मुक्तकमार्फत कलात्मक रूपमा प्रस्तुत गरिएको लेखक ओलीले बताउनुभयो।
बाल्यकालदेखि नै उपन्यास पढ्न रुचि राख्ने ओलीले मनमा गहिरिएर बसेका भावनालाई लामो कथाको आकार दिन परिस्थिति अनुकूल नभएका बेला छोटो तर प्रभावकारी साहित्यिक विधामार्फत गहिरा अनुभूति व्यक्त गर्न सकिने भएकाले मुक्तक लेखनतर्फ आकर्षित भएको बताउनुभयो।
उत्सवका क्रममा ‘प्रेमाङ्कुर’ माथि साहित्यकार दामु मर्सिफुल र धमन बस्नेतले समीक्षा गर्नुभएको थियो। त्यसैगरी, ओलीद्वारा लिखित उपन्यास ‘सुलभ’ माथि डा. टीकाराम उदासीले समीक्षा गर्नुभएको थियो। समीक्षाका क्रममा कृतिको साहित्यिक पक्ष, विषयवस्तु र प्रस्तुतिका विविध आयाममाथि चर्चा गरिएको थियो। कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरूले सिर्जनामार्फत समाज र समयलाई अभिव्यक्त गर्ने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।
ओलीका यसअघि ‘अधुरो जीवन’ उपन्यास, ‘परदेशमा व्यतीत मन’ गजल सङ्ग्रह, ‘परदेशी सपना’ मुक्तक सङ्ग्रह, ‘अथाह बाछिटा’ सङ्ग्रह, ‘सुलभ’ उपन्यास र ‘अटेलिस जोई’ उपन्यासलगायत कृति प्रकाशित भइसकेका छन्।
उत्सवलाई तीनवटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो सत्रमा कृति विमोचन, दोस्रो सत्रमा साहित्यिक रचना वाचन र तेस्रो सत्रमा साहित्यिक बहस आयोजना गरिएको थियो।
‘साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीयको भूमिका’ विषयमा आयोजित बहसमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर, डा. टीकाराम उदासी र साहित्यकार डी.बी. टुहुरो वक्ताका रूपमा सहभागी हुनुभएको थियो। बहसमा स्थानीय भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समुदायको भूमिका र स्थानीय तहको जिम्मेवारीबारे विचार प्रस्तुत गरिएको थियो।
शहीद स्मृति युवा क्लब राङ्सीको आयोजना, निर्झर साहित्य परिषद् राङ्सीको समन्वय तथा परिवर्तन गाउँपालिका २ नम्बर वडा कार्यालयको संरक्षणमा उत्सव सञ्चालन गरिएको हो। कार्यक्रमको सहजीकरण साहित्यकार नवीन लोचन मगरले गर्नुभएको थियो।
परिवर्तन गाउँपालिका २, राङ्सीस्थित जनसेवा नमुना माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा लामो समय शिक्षण पेसामा संलग्न भई हाल निवृत्त जीवन बिताइरहनुभएका लोककुमार श्रेष्ठ (लोक आलोक) लाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
स्थानीय साहित्यिक प्रतिभाको पहिचान, प्रकाशित कृतिमाथि विमर्श, पठन संस्कृतिको विकास तथा भाषा, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित उत्सवले राङ्सीको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।


