नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रोल्पाबाट धनबहादुर रसाइली कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रोल्पाबाट केन्द्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका धनबहादुर रसाइलीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रोल्पाको सामान्य परिवारमा जन्मिएर संघर्ष मेहनत र सामाजिक सेवाको बाटो हुँदै राजनीतिमा सक्रिय रहँदै आएका रसाइलीले आफ्नो लामो राजनीतिक तथा सामाजिक अनुभवलाई थप व्यापक बनाउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

रसाइली नेपाली कांग्रेसको तल्लो तहदेखि नै निरन्तर पार्टी संगठनमा सक्रिय रहँदै आएका छन्। उनले रुन्टीगढी गाउँ कार्यपालिका सदस्य नेपाली कांग्रेसका महासमिति सदस्य नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा रोल्पा दाङ सम्पर्क समितिका सभापतिसहित विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

संघ संस्था सामाजिक क्षेत्र तथा व्यवसायमा समेत सक्रिय रहँदै आएका रसाइलीले संगठन निर्माण सामाजिक सेवा र पार्टीको तल्लो तहका कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन्।

पार्टीको संगठनलाई थप सुदृढ बनाउने कार्यकर्ताको भावना र आवाजलाई नेतृत्व तहसम्म पुर्‍याउने तथा रोल्पासहित समग्र क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको रसाइलीको भनाइ छ।

रसाइलीको उम्मेदवारीसँगै रोल्पाबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको विषयले पनि चर्चा पाएको छ। लामो समयदेखि पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रसाइलीले महाधिवेशनमार्फत आफ्नो राजनीतिक यात्रालाई नयाँ जिम्मेवारीतर्फ अघि बढाउन खोजेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयनसँगै केन्द्रीय सदस्यसहित विभिन्न पदाधिकारी तथा सदस्य चयन गर्नेछ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस