रोल्पाको चुनारेभिरमा तेस्रो भूमे पर्वको रौनक, मौलिक कला–संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड

रोल्पा, असार १। मगर समुदायको मौलिक संस्कृति, भाषा, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रोल्पा नगरपालिका–२, चुनारेभिर, राेल्पामा तेस्रो भूमे पर्व २०८३ विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

‘हाम्रो भूमि, हाम्रो पहिचान, स्थानीय भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने हाम्राे अभियान’ भन्ने नारासहित रोल्पा नगरपालिका २ नं वडा कार्यालय रेउघाकाे आयाेजना र सिबाङ टाेल विकास संस्था राेल्पा न.पा. २ लिवाङ राेल्पाकाे ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

चुनारे भिरमा आयाेजित उक्त पर्वकाे कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, आमा समूह, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले ब्यानर वाचन गरि गरे सँगै राष्ट्रिय गान पश्चात राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरि सुरू गरिएकाे थियो।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले भूमे पर्वले समुदायबीच एकता, सद्भाव र सांस्कृतिक चेतनाको विकास गर्ने बताएका थिए। उनीहरूले आधुनिकताको प्रभावसँगै लोप हुन थालेका मौलिक कला, संस्कृति र परम्परालाई जोगाउन यस्ता पर्वहरू प्रभावकारी माध्यम बनेको धारणा राखे।

चुनारेभिर संरक्षण समितिका अध्यक्ष खडकबहादुर सिंहले भूमे पर्वको सुरुवात र यसको महत्वबारे चर्चा गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय युवाहरूले विगतदेखि मेहनत गर्दै आएको बताए। उनले चुनारेभिर क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासका लागि थप बजेट आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरे। उनले हालसम्म भएका प्रयासले क्षेत्रको पहिचान बढाउन सहयोग पुगेको भन्दै आगामी दिनमा थप संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी रोल्पा नगरपालिका–७ का वडा अध्यक्ष लालबहादुर घर्ती मगरले भूमे पर्वले समुदायबीचको एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउने बताए। जल, जमिन र प्रकृतिसँग जोडिएको यो पर्व मानव जीवन र वातावरण संरक्षणको सन्देश बोकेको उनको भनाइ थियो। उनले परम्परागत संस्कृति र सामाजिक मूल्यहरूको संरक्षणमा सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विशिष्ट अतिथि तथा रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यले भूमे पर्व मगर समुदायको विशेष पर्व भए पनि अहिले सबै जातजातिको साझा सांस्कृतिक उत्सवका रूपमा विकास हुँदै गएको बताइन्। उनले समुदायबीचको सहअस्तित्व, सहयोग र सद्भाव कायम राख्न यस्ता पर्वहरूले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन्। संस्कृति संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानबारे जानकारी गराउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

त्यसै गरी प्रमुख अतिथि तथा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायका संस्कार, संस्कृति र चाडपर्वलाई सम्मान गर्नुपर्ने बताए। उनले भूमे पर्व प्रकृति, भूमि, जल र वातावरणसँग प्रत्यक्ष सम्बन्धित पर्व भएकाले यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व विशेष रहेको उल्लेख गरे। मगर समुदायको मौलिक पहिचान बोकेको यो पर्व अहिले साझा सामाजिक उत्सवका रूपमा विस्तार हुँदै गएको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको आकर्षणका रूपमा विभिन्न सांस्कृतिक प्रस्तुति रहेका थिए। चाहना कला केन्द्रका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने पैँसरु नाच, पञ्चेबाजा नाच, भूमे नृत्य तथा विभिन्न सांस्कृतिक झाँकीहरूले दर्शकको मन जितेका थिए। स्थानीय विद्यालयका विद्यार्थी तथा विभिन्न टोल विकास संस्थाका सहभागीहरूले पनि मौलिक कला र संस्कृतिको झल्को दिने प्रस्तुति पस्किएका थिए।

भूमे पर्वको अवसरमा रोल्पा नगरपालिका–२ ले स्थानीय कला, संस्कार र संस्कृति संरक्षणका लागि सञ्चालन गरेका पञ्चेबाजा, पैँसरु नाच र भूमे नृत्यसम्बन्धी तालिमका प्रशिक्षकहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण समेत गरिएको थियो। तालिममार्फत स्थानीय युवापुस्तामा मौलिक संस्कृतिप्रति आकर्षण बढेको आयोजकको भनाइ थियो।

कार्यक्रममा वक्ताहरूले भूमे पर्व केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई सामाजिक एकता, वातावरण संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन तथा पुस्तान्तरणको माध्यम भएको उल्लेख गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

तेस्रो भूमे पर्वले स्थानीय भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्दै समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा रहेको थियो।

स्वागत मन्तव्य राख्दै रोल्पा नगरपालिका–२ का कार्यपालिका सदस्यले भूमे पर्व मगर समुदायको मात्र नभई सम्पूर्ण समुदायको साझा सांस्कृतिक सम्पदा बन्दै गएको बताए। उनले पछिल्ला वर्षहरूमा हराउँदै गएका मौलिक संस्कार, संस्कृति र पहिचानलाई पुनर्जीवित गर्न भूमे पर्वले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले स्थानीय संस्कृति संरक्षणका लागि सबै समुदायको सहभागिता आवश्यक रहेको बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित रूपमा पर्व सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस