सुनिलस्मृति गाउँपालिकाले ल्यायो ५८ करोड ५७ लाखभन्दा बढीको बजेट

रोल्पा, असार ९ । सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २०औँ अधिवेशनअन्तर्गत सम्पन्न बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ४१ करोड १८ लाख ४५ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १७ करोड ३९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ। उपाध्यक्ष थापाले प्रस्तुत गर्नुभएको बजेटमा संघीय राजस्व बाँडफाँटबाट ११ करोड ५ लाख रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानबाट १० करोड ४७ लाख रुपैयाँ, संघीय विशेष अनुदानबाट १ करोड ४९ लाख रुपैयाँ, संघीय सशर्त अनुदानबाट २५ करोड ५६ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट २ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश वित्तीय समानीकरण अनुदानबाट ६९ लाख ५८ हजार रुपैयाँ, प्रदेश सवारी साधन करबाट १ करोड १४ लाख ८० हजार रुपैयाँ, प्रदेश सशर्त अनुदानबाट १ करोड रुपैयाँ, प्रदेश समपूरक अनुदानबाट १ करोड १५ लाख ३४ हजार रुपैयाँ तथा बैंक मौज्दातबाट ३ करोड ४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने प्रक्षेपण गरिएको छ। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थापाले आगामी आर्थिक वर्षको बजेटले आर्थिक विकास तथा गरिबी न्यूनीकरण, उत्पादनमूलक र छिटो प्रतिफल दिने आयोजना सञ्चालन, नागरिकको आयवृद्धि तथा जीवनस्तर सुधार, गुणस्तरीय र भरपर्दो पूर्वाधार विकास, रोजगारी सिर्जना, अधिकतम जनसहभागिता तथा जनशक्ति परिचालन, दिगो विकास, वातावरण संरक्षण, सरसफाइ तथा स्वच्छता, विपद् व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक संरक्षणलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले सामाजिक, आर्थिक, लैङ्गिक, धार्मिक तथा सांस्कृतिक असमानताको अन्त्य गर्दै समतामूलक र सामाजिक न्याययुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ।

साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, वैज्ञानिक कृषि प्रणालीमार्फत कृषिको आधुनिकीकरण, विविधीकरण र व्यावसायीकरणमा जोड दिने, सीपमूलक तथा व्यावसायिक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने तथा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानीलगायत आधारभूत सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने नीति बजेटले अंगीकार गरेको छ। बजेटमा सुशासन प्रवर्द्धन, पारदर्शिता, जवाफदेहिता तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ भने राजस्व परिचालन, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रणमार्फत आन्तरिक आय वृद्धि गर्ने लक्ष्य समेत लिइएको छ।

आर्थिक विकासतर्फ कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, जलस्रोत तथा सिँचाइ, वन, वातावरण र जलवायु सन्तुलनलाई प्राथमिकता दिँदै संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाहेक गाउँपालिकाको स्रोतबाट १ करोड ३१ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वच्छ खानेपानी तथा सरसफाइ, संस्कृति संरक्षण तथा प्रवर्द्धन, खेलकुद, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा, युवा परिचालन तथा समग्र सामाजिक विकासका कार्यक्रमका लागि ४ करोड ६२ लाख ६५ हजार रुपैयाँ छुट्याइएको छ। पूर्वाधार विकास क्षेत्रअन्तर्गत स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिँचाइ, भवन निर्माण, सहरी विकास, ऊर्जा, वैकल्पिक ऊर्जा तथा सञ्चार क्षेत्रको विकासका लागि १२ करोड १७ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ वन तथा भू–संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, फोहोरमैला तथा ढल व्यवस्थापन, जलजन्य प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन तथा वारुणयन्त्र सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ सामान्य प्रशासन, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जीकरण सेवा, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन, अनुसन्धान तथा विकास, श्रम तथा रोजगारी, मानव संसाधन विकास तथा सुशासन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न १२ करोड २१ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समावेशी विकास, सुशासन, आर्थिक समृद्धि तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस