घाेराही, असार ९ । लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँ बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख जोगराज चौधरीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख लक्ष्मी योगीले बजेट वक्तव्य पेश गर्नुभएको हो। “समृद्ध लमही, सक्षम नागरिक र सुशासित नगर” भन्ने दीर्घकालीन सोचलाई आत्मसात् गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न केन्द्रित नीति तथा कार्यक्रम ल्याएको छ। बजेटअनुसार पूर्वाधार विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ३१ करोड ९० लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १८ करोड ९ लाख ३३ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १२ करोड २७ लाख ९३ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ५ करोड ९२ लाख ६७ हजार रुपैयाँ तथा विपद् व्यवस्थापनतर्फ १ करोड १ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ। यो बजेट संघीय र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ, जसमा आन्तरिक स्रोतबाट मात्रै ८ करोड ८४ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।
शिक्षा क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा लिँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्मार्ट कक्षा, डिजिटल बोर्ड तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिने भएको छ। “हाम्रो विद्यालय–राम्रो विद्यालय, हाम्रो गौरव–सामुदायिक विद्यालय” अभियानमार्फत सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्य राखेको नगरपालिकाले पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सहयोगीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। साथै, आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थीहरूलाई एमबीबीएस, इन्जिनियरिङ, कृषि तथा अन्य प्राविधिक विषय अध्ययनका लागि प्रतिस्पर्धात्मक छात्रवृत्ति उपलब्ध गराइनेछ। स्वास्थ्य क्षेत्रतर्फ लमही अस्पतालको स्तरोन्नतिका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गर्दै फिजियोथेरापी र हाडजोर्नी विशेषज्ञ जस्ता सेवा थप गरिने नीति लिइएको छ। नगरभित्रका सतबरिया र सोनपुर स्वास्थ्य केन्द्रमा प्रयोगशालासहित एमबीबीएस चिकित्सकबाट सेवा उपलब्ध गराइनेछ भने ‘आमासँग उपमेयर कार्यक्रम’ लाई निरन्तरता दिँदै गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइनेछ। यसका साथै सिकलसेल एनिमिया, थालासेमिया तथा मिर्गौला रोगका कारण नियमित डायलाइसिस गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
भूमिहीन तथा सुकुम्वासी नागरिकहरूको भूमि अधिकार सुनिश्चित गर्न “भूमिको अधिकार, सम्मानित जीवनको आधार” अवधारणाअनुसार भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको लगत प्रमाणीकरण, नापजाँच तथा जग्गाधनी प्रमाणपुर्जा वितरणलाई तीव्रता दिइनेछ। उपयोगविहीन तथा बाँझो जमिनको उत्पादक उपयोगका लागि करार खेती तथा भूमि बैंक कार्यक्रम सञ्चालन गरिनेछ भने “भूमिमा महिलाको अधिकार, समृद्ध परिवारको आधार” अभियानमार्फत महिलाको एकल वा संयुक्त जग्गा स्वामित्वलाई प्रोत्साहन गरिनेछ। कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि कृषि विकास शाखामार्फत १ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत किसान सूचीकरण गरी परिचयपत्र वितरण गरिनेछ। पशुपालन क्षेत्रको विकासका लागि लमही पशुरोग अन्वेषण प्रयोगशालालाई आधुनिक प्रविधियुक्त नमुना प्रयोगशालाका रूपमा स्तरोन्नति गरिनेछ। पर्यावरण संरक्षणतर्फ लमही–७ कप्तानगञ्जमा सञ्चालन भइरहेको गिद्ध संरक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ भने सडक सुरक्षा तथा रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुरहरूको नियमित बन्ध्याकरण तथा खोप कार्यक्रम चलाइनेछ। विकास निर्माणलाई गति दिन नगरपालिकाले विगतका अधुरा तथा क्रमागत योजना सम्पन्न गर्न २ करोड ३० लाख रुपैयाँ, भुक्तानी हुन बाँकी आयोजनाका लागि ४ करोड ५० लाख रुपैयाँ र प्रत्येक वडाका लागि १ करोड ६० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। स्थानीय सरकारप्रति नागरिकको पहुँच बढाउन र जनगुनासोको प्रत्यक्ष सुनुवाइ गर्न “जनतासँग मेयर” तथा “जनतासँग उपमेयर” कार्यक्रमका लागि १–१ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।


