सभ्यता पाठशालाकाे आगामी शैक्षिक सत्रका योजना सार्वजनिक, खेलकुद र अन्तर्राष्ट्रिय अनुभवमा जोड

घोराही,  फागुन १ । दाङको घोराही १५ काठेकोल स्थित सभ्यता पाठशाला ले आगामी शैक्षिक सत्र २०८३ का लागि तय गरिएका योजनाहरू सार्वजनिक गरेको छ। विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा शुक्रबार साँझ अभिभावकको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी भावी योजनाहरू प्रस्तुत गरिएको हो।

यस वर्ष विद्यालयले कक्षा ८ सञ्चालन गर्ने तयारी गरेको छ। साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि ‘सभ्यता’ फुटबल, क्रिकेट र बास्केटबल क्लब स्थापना गर्ने योजना अघि सारिएको छ। खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र सहकार्य भावना विकास गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ।

विद्यालयले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यसहित एक्स्पोजर कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यालयहरूसँग सहकार्यात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। व्यवस्थापनले यी योजनाहरू कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आउँदो शैक्षिक सत्रदेखि विद्यालयको प्रिन्सिपलमा केशरमान बुढाथोकी चयन हुनुभएको छ। लामो समयदेखि शिक्षा, पत्रकारिता र समाजसेवामा सक्रिय बुढाथोकीले पूर्ण समय विद्यालयलाई दिनका लागि सरकारी जागिर छोडेर प्रिन्सिपलको जिम्मेवारी सम्हाल्न आउनुभएको छ। यसैगरी लोकेन्द्र बिसी आर्थिक निर्देशक र कृष्णदेव थापा मगर शैक्षिक निर्देशकमा चयन भएका छन्।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सिलका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी, डा. लोकराज पराजुली लगायतका अभिभावक र पत्रकारहरू उपस्थित थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस