गुरुकुल एकेडेमीको कक्षा २ का विद्यार्थीका लागि बन्द शिविर सम्पन्न

घोराही, फाल्गुन ३ । गुरुकुल एकेडेमीले कक्षा २ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरेको बन्द शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको आत्मअनुशासन, आत्मनिर्भरता, सामाजिक व्यवहार तथा समूहमा बस्ने बानीको विकास गर्ने उद्देश्यले आयोजना गरिएको बन्द शिविरमा तीनवटै शाखाका गरी ८२ जना विद्यार्थी सहभागी भएका थिए।

बन्द शिविर अन्तर्गत गुरुकुल एकेडेमी घोराहीमा ५३ जना, गुरुकुल एकेडेमी तुलसिपुरमा २० जना र गुरुकुल एकेडेमी लमहीमा ९ जना विद्यार्थी सहभागी भएका थिए। तीनवटै विद्यालयले आफ्नै विद्यालय प्राङ्गणमा विद्यार्थीहरूलाई बसोबास गराई बन्द शिविर सञ्चालन गरेका थिए। गुरुकुल एकेडेमी घोराहीमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप राज भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा मन्टेस्वरी संयोजक सुनिता रानी पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो। यसैगरी गुरुकुल एकेडेमी तुलसिपुरमा सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सहजिकरण विद्यालय संयोजक चिन्तना धितालले गर्नुभएको थियो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले बन्द शिविरमा बस्दाका आफ्ना अनुभवहरू सुनाउँदै नयाँ कुरा सिक्न पाएको, आत्मविश्वास बढेको र साथीहरूसँग मिलेर बस्न सिकेको प्रतिक्रिया व्यक्त गरेका थिए।

कार्यक्रममा अभिभावक तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ता बन्द शिविर कार्यक्रम अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै विद्यालय परिवारलाई शुभकामना मन्तव्य दिनुभएको थियो । विद्यालय प्रशासनका अनुसार आगामी दिनहरूमा पनि विद्यार्थीहरूको व्यवहारिक, नैतिक र शैक्षिक विकासलाई केन्द्रमा राख्दै यस्ता रचनात्मक तथा जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस