घाेराही, ९ असार । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको २१औँ गाउँसभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले उक्त नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा विद्यालयहरूमा डिजिटल पूर्वाधारको विकास गर्ने, शिक्षण–सिकाइ प्रक्रियामा सुधारका लागि बजेट विनियोजन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा आबद्ध गराउन विशेष उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ। यसैगरी, कृषि क्षेत्रमा बढ्दो समस्याका रूपमा रहेको रासायनिक मल र विषादीको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्न जैविक मल तथा जैविक विषादीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि यसमा समेटिएको छ। अध्यक्ष गिरीद्वारा पेश गरिएको उक्त नीति तथा कार्यक्रममाथि सामान्य छलफल गरी मंगलबारकै गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हाे।
गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले न्यायिक समिति तथा राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक रेशमबहादुर वलीले लेखा समितिको प्रगति प्रतिवेदन तथा आय–व्यय अनुमोदन प्रस्ताव पेश गर्नुभएको थियो। बैठकले गाउँपालिकाको लोगो तथा चिह्न, विभिन्न समितिका प्रगति प्रतिवेदनहरू र आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
यसै अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। सम्मानित हुनेहरूमा शिक्षकतर्फ जनता माध्यमिक विद्यालय बुटनियाँका शिक्षक प्रदीप देवकोटा र लक्ष्मीनारायण आधारभूत विद्यालय सलौराका शिक्षक भगन्दास चौधरी हुनुहुन्छ। त्यस्तै, स्वास्थ्यतर्फ स्वास्थ्य चौकी हेकुलीमा कार्यरत गायत्री बस्नेत तथा कर्मचारीतर्फ गाउँपालिका कार्यालयका आईटी अधिकृत युवराज रिजाल र कार्यालय सहयोगी रुपन्या चौधरीलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।


