दुई प्रकारका ‘अतिवाद’विरुद्ध नेकपालाई मत दिन संयोजक प्रचण्डको आह्वान

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमार्फत देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको बताउनुभएको छ।

उहाँले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि केपी शर्मा ओली नेतृत्वको सरकार नसुध्रिएकै कारण कुशासनको परिणामस्वरूप देश अराजकताउन्मुख बनेको बताउनुभयो। एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर देशलाई अराजकता र अनिश्चिततातर्फ धकेल्ने प्रवृत्ति, र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद दुवै देशका लागि गम्भीर खतरा भएको उहाँको भनाइ छ।

यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उल्लेख गर्दै उहाँले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गर्नुभयो। अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउँदै त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो।

संयोजक प्रचण्डले हाल नेपाली कम्युनिष्ट पार्टीको रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र २५ भन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ तथा देशभक्त शक्ति निर्माण भएको जानकारी दिनुभयो। नेकपा विभाजनबाट एकतामा, आरोपबाट आत्मसमिक्षामा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उहाँले बताउनुभयो। साथै, नेपाली कम्युनिष्ट पार्टी वाम आन्दोलनको केन्द्र बनेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने उहाँको धारणा रहेको छ।

आफू प्रधानमन्त्री रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालिएको, प्रशासनिक सुधार गरिएको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरिएको उहाँले स्मरण गराउनुभयो। आफू र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको बताउँदै समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो।

महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायका अधिकारको रक्षा तथा व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न उहाँले अपील गर्नुभयो। भ्रष्टाचार अन्त्य गर्ने, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापना गर्ने आफ्नो एजेन्डा रहेको पनि उहाँले बताउनुभयो।

“हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस