दाङ, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव देखिएको छ। हालसम्मको परिणामअनुसार क्षेत्र नं. २ र ३ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने क्षेत्र नं. १ मा पनि सोही पार्टीका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्।
दाङ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य विजयी भएका छन्। उनले ४३ हजार ८२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शंकर पोख्रेलले १५ हजार ५५८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ७०० मत प्राप्त गरेका छन्।
यसैगरी दाङ क्षेत्र नं. ३ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दीपक गिरीले १६ हजार ४५३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५ मत प्राप्त गरेका छन्।
उता दाङ क्षेत्र नं. १ मा भने मतगणना जारी छ। हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३६ हजार ३५३ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १२ हजार ६९८ मत, नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ५ हजार ९२१ मत, नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ३७४ मत र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रकाश शाहीले १ हजार २१५ मत प्राप्त गरेका छन्।
दाङका तीनमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भइसकेको छ भने बाँकी क्षेत्र नं. १ मा पनि सोही पार्टीका उम्मेदवारले ठूलो मतान्तरसहित अग्रता कायम गरेका छन्। यसले जिल्लाको समग्र निर्वाचन परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बलियो देखिएको विश्लेषण गरिएको छ।


