लुम्बिनी प्रदेश सरकार पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

दाङ, २५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले विशेष समारोहबीच नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। सरकार पुनर्गठनसँगै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण र कार्यगत सक्रियताको अपेक्षा गरिएको छ।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट चार जना तथा जनता समाजवादी पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन्। मन्त्री पदमा नियुक्त हुनेहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन्।

तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, प्रदेश सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायत प्रदेश सरकारका उच्च पदाधिकारी तथा राजनीतिक नेतृत्वको उपस्थिति रहेको थियो।

प्रदेश सरकार पुनर्गठनपछि विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा नयाँ मन्त्रीहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस