परिचय
४२ वर्षीय अशिम राई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सोलुखुम्बु जिल्लाबाट एक सशक्त उम्मेदवार हुनुहुन्छ। उनी जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३, पञ्चनमा जन्मिनुभएका हुन् र बीबीएस तथा एमए तहको उच्च शिक्षा हासिल गरेका छन्। स्पष्टवक्ता, तार्किक, अध्ययनशील र कुशल योजनाकारका रूपमा उनको छवि प्रख्यात छ।
राजनीतिक यात्रा र नेतृत्व
व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका अशिम राई २०६४ सालदेखि जिल्लाको सक्रिय राजनीतिमा संलग्न हुनुहुन्छ। उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) मा जिल्ला सदस्य, सचिव र अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भइसकेका छन्। हाल उनी नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला सह–इन्चार्जका रूपमा क्रियाशील छन्। पार्टीका आन्तरिक चुनौतीहरूको तत्क्षण समाधान गर्नसक्ने क्षमता भएका अशिम राईलाई सङ्कट समाधानकर्ताको रूपमा चिनिन्छ।
स्थानीय सरकारमा स्वर्णकाल
अशिम राईसँग सोलुखुम्बुको दोस्रो ठूलो स्थानीय सरकार, थुलुङ दुधकोशी गाउँपालिकामा दुई कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव छ। जनताको सबैभन्दा नजिकको सरकारमा बसेर काम गर्दै उनले ‘स्थानीय सरकार के हो र सरकार कस्तो हुनुपर्छ?’ भन्ने प्रश्नको जवाफ कार्यमार्फत दिइसकेका छन्।
२०७४ सालमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि पहिलो कार्यकालमै करिब २२ रोपनी जग्गा निशुल्क व्यवस्थापन गरी एक विशाल प्रशासनिक भवन निर्माण गरिएको थियो। उक्त भवनबाट सेवासुविधा प्रदान गरिएको थियो र उद्घाटन गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो।
स्वास्थ्य र शिक्षामा क्रान्ति
अशिम राईलाई विकासवादी नेता भनेर चिनिन्छ। उनले गाउँपालिका केन्द्रमै ५० शैय्याको सुविधा सम्पन्न अस्पताल स्थापना गरी, नागरिकलाई जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाएका छन्। महायज्ञबाट सङ्कलित करिब १२ करोड रुपैयाँ बजेटमा निर्मित अस्पतालमा एमडीजीपी डाक्टरको नेतृत्वमा शल्यक्रिया सेवा समेत उपलब्ध छ।
२०७४/०७५ सालतिर उच्च मातृ मृत्युदरलाई शून्यमा झार्न उनले ५ हजार सुत्केरी प्रोत्साहन भत्ता सुरु गरे र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराए। हाल कोशीपारिका तीन वडा (४, ५, ९) लाई लक्षित गरी १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ।
शैक्षिक क्षेत्रमा, उनी गाउँपालिका केन्द्र मुक्लीमा थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय स्थापना गरी कोशी प्रदेशकै उत्कृष्ट परिणाम ल्याउन सफल भएका छन्। वडा नं. ९, लोखिममा बाली विज्ञान कक्षा सञ्चालन गरी शिक्षा र सीपलाई जोड्न सफल भए। उनी पालिकामा शैक्षिक सम्मेलनदेखि २१ बुँदे परिमार्जित श्वेतपत्र जारीसम्ममा सक्रिय छन्, जसले एसईईमा ९९ प्रतिशत तथा बहुप्राविधिक शिक्षामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ।
कृषि, भौतिक पूर्वाधार र आर्थिक समृद्धि
अशिम राईले पूर्वदेखि सगरमाथा क्षेत्रसम्म सिधा सडक जोड्ने योजना अघि बढाएका छन्। उनले नेले–तुम्से सडक स्तरोन्नति, नेले–चारघरे–मुक्ली तथा नेले–बोगल–बुडिडाँडा जस्ता रणनीतिक सडकमा अर्बौंको बजेट खर्च गर्दै कालोपत्रे कार्य गराइरहेका छन्।
कृषि क्षेत्रमा, कृषि बन अनुसन्धान केन्द्र स्थापना गरी उत्पादनलाई बजारसम्म पुर्याउन ‘कृषि एम्बुलेन्स’ व्यवस्था गरे र काठमाडौं दरबारमार्गमा ‘रैथाने बजार’ मार्फत बिक्री–वितरणको सुविधा उपलब्ध गराए। गाउँपालिकाभित्र कफी प्रशोधन केन्द्र स्थापना गरी स्थानीय कफी उत्पादनलाई विश्व बजारसम्म पुर्याउने योजना अगाडि बढाइरहेका छन्।
सांस्कृतिक र धार्मिक संवेदनशीलता
अशिम राई स्थानीय उत्पादन र सीपको सम्मानमा विश्वास राख्छन्। उनले सिलामसाक्मा, धजुरा र फुर्का तालिम सञ्चालन गरी स्थानीय सामग्रीको उत्पादन र प्रयोग बढाएका छन्। लोखिममा गुम्बा, देउसाको जालीम मन्दिर, जुबुमा सुकेपोखरी र देवाली थानजस्ता स्थलमा संरचनागत सुधार र संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गरेका छन्।
अन्तर्राष्ट्रिय अनुभव र राष्ट्रिय पहिचान
अशिम राईले चीन, रुस, फ्रान्स, जर्मनी, इटाली लगायतका देशको भ्रमण गरी त्यहाँका विकास मोडल स्थानीय स्तरमा उतारेका छन्। उनी नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत गठित ‘अर्थ समिति’ को सदस्य रहि राष्ट्रिय अर्थतन्त्र र दीगो विकासको खाका निर्माणमा सक्रिय रहिसकेका छन्। अन्तर्राष्ट्रिय चङहङ तेक्वान्दो फेडेरेशन (ICTF) का अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्षको रूपमा समेत कार्य गरेका छन्।
सङ्कट व्यवस्थापन
कोरोना महामारीको समयमा काठमाडौंमा फसेका नागरिकको उद्धारदेखि बाढीमा तुइन व्यवस्थापनसम्म, उनले नागरिकको अभिभावकको रूपमा आफ्नो भूमिका निर्वाह गरेका छन्। २०८० सालको बाढीले दिप्लीघाट–दुधकोशी पुल बगाउँदा महाकुलुङ र सोताङपट्टी फसेका नागरिकलाई उद्धार गरी तत्कालिन अवस्थामा जनताको मन जितेका छन्।
अतः हिजो केवल थुलुङ दुधकोशी गाउँपालिकामा कार्यकारी रहेका अशिम राई अब समग्र सोलुखुम्बु जिल्लाका लागि निर्वाचित हुन तयार छन्। आगामी फागुन २१ गते तारा चुनाव चिह्नमा मतदान गरी अशिम राईलाई निर्वाचित गराऔँ।


