मैटे रोका मगरको उपचारका लागि रोल्पा कोटगाउँले समाजद्वारा ११ लाखभन्दा बढी सहयोग हस्तान्तरण

घाेराही, चैत्र १९ । रोल्पा कोटगाउँले समाज, घोराही उपमहानगरपालिका दाङले बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी लामो समयदेखि उपचाररत मैटे रोका मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

घोराही उपमहानगरपालिका–६, अगरा निवासी ६४ वर्षीय मैटे रोका मगर उच्च रक्तचापका कारण अचानक शरीरको एक भाग नचल्ने र टाउकोमा रगत जम्ने समस्या देखिएपछि जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। हाल उहाँ खतरामुक्त अवस्थामा रहेको जानकारी दिइएको छ।

चिकित्सकहरूले उपचार प्रक्रिया लामो र खर्चिलो हुने बताएपछि आर्थिक रूपमा कमजोर पारिवारिक अवस्थाका कारण उपचारमा समस्या उत्पन्न भएको थियो। यसैबीच, रोल्पा कोटगाउँले समाजले बिरामी परिवारसँग समन्वय गर्दै उपचारलाई निरन्तरता दिन ‘मैटे बचाउ अभियान’ सञ्चालन गरी सहयोगको आह्वान गरेको थियो। उक्त अभियान सिताराम रोकाको संयोजकत्वमा सञ्चालन गरेकाे थयाे।

समाजले अभियानमार्फत विभिन्न संघसंस्था, समाज तथा व्यक्तिहरूबाट कुल ११ लाख ७२ हजार ४३३ रुपैयाँ संकलन गरिएको थियो। सोही रकम बराबरको चेक घोराहीमा आयोजित कार्यक्रममा बिरामीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा विभिन्न संघसंस्था, टोल विकास संस्था, सामाजिक अभियन्ता तथा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले व्यक्तिगत रूपमा समेत आर्थिक सहयोग गरेका थिए।

कार्यक्रम रोल्पा कोटगाउँले समाज घोराहीका अध्यक्ष टेक बहादुर वलीको अध्यक्षता, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेस कुमार पाण्डेको प्रमुख आतिथ्यता तथा वडा नं. १३ का कार्यवाहक अध्यक्ष रामकली घर्ती मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले समाजले दुःखमा परेका गरिब तथा विपन्नलाई सहयोग गर्न सके मात्र यसको वास्तविक महत्व रहने उल्लेख गर्दै कोटगाउँले समाजले विभिन्न समयमा गर्दै आएको सामाजिक सेवा प्रशंसनीय रहेको बताउनु भएकाे थियाे। साथै उहाँले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिन आग्रह गर्दै आवश्यक परे स्थानीय सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भएकाे थियाे ।

अन्य वक्ताहरूले पनि यस्तो सहयोगमूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए। उपस्थितिहरूले आपत्‌विपतमा परेका नागरिकको उपचार तथा सहयोगका लागि समुदाय एकजुट हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै रोल्पा कोटगाउँले समाजले देखाएको सक्रियता प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए। यस्ता कार्यले सामाजिक एकता बलियो बनाउनुका साथै मानवीय संवेदनालाई जीवित राख्न मद्दत पुग्ने उनीहरूको भनाइ थियो।

समाजकी महिला उपाध्यक्ष माया पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका सचिव निशान वलीले गरेका थिए।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस