राेल्पा, फागुन ५ । पहिलो पटक रोल्पाबाट नेपाली कम्युनिष्ट पार्टी ले दलित समुदायबाट समानुपातिक उम्मेदवारका रूपमा गीता गहतराज लाई अघि सारेपछि जिल्लाका दलित समुदायमा उल्लेखनीय उत्साह देखिएको छ।
जातीय उत्पीडन अन्त्यका लागि तत्कालीन नेकपा माओवादीको नेतृत्वमा पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियान सञ्चालन गरेको स्मरण गर्दै, दलित अधिकारका लागि तारा चिन्हमा मतदान गर्नुपर्ने स्यूरीका दलित अधिकारकर्मी तथा अगुवा सन्तु कामी ले बताउनुभयो।
यस्तै, नेपाल दलित मुक्ति मोर्चा रोल्पाले सञ्चालन गरेको चुनावी प्रचार अभियानअन्तर्गत वडाचौरका नम्जा, हार्जङ, गुम्चाललगायत स्थानमा भएको जनभेटघाट कार्यक्रममा दलित समुदायले आफूले मात्र होइन, अरूलाई पनि नेपाली कम्युनिष्ट पार्टीलाई मत दिन प्रेरित गर्ने अभियान सञ्चालन गर्ने दलित अगुवाहरूले बताएका छन्।
अभियानका क्रममा बोल्दै समानुपातिक उम्मेदवार गीता गहतराजले नेपाली कम्युनिष्ट पार्टीको योगदानले जातीय छुवाछुतको अन्त्यतर्फ महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बाँकी रहेको विभेद अन्त्यका लागि पार्टीलाई विजयी गराउन अपिल गर्नुभयो। उहाँले उक्त कुरा मंगलबार स्यूरीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बताउनुभएको हो।
दलित समुदायको घनाबस्ती रहेको स्यूरी वडामा करिब २०२ घरधुरी दलित समुदायको बसोबास रहेको पूर्व सुनछहरी गाउँपालिकाका कार्यपालिका सदस्य सन्तु विक ले जानकारी दिनुभयो। उहाँका अनुसार स्यूरी वडा दलित समुदायको बाहुल्यता भएको क्षेत्र हो।
स्थानीय दलित नेता सन्तु विकले नेपाली कम्युनिष्ट पार्टी तथा तत्कालीन माओवादी जनयुद्ध नभएको भए रोल्पालगायत देशभर जातीय विभेद न्यूनिकरण सम्भव नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “जनयुद्धमा हामी जातीय विभेद अन्त्य हुन्छ भन्ने विश्वासका साथ लागेका हौँ। अहिले न्यूनिकरण भएको छ, अब यसलाई पूर्णता दिन तारा चिन्हमा मतदान गरेर नेपाली कम्युनिष्ट पार्टीलाई विजयी बनाउनुपर्छ।”
उहाँले दलित समुदायलाई कानुन बनाएर सत्तामा पुर्याउने तथा दलित महिलालाई अनिवार्य वडा सदस्य बनाउने नीति लिएको पार्टी नेपाली कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
यस्तै, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपमहासचिव कर्मलाल परियार ले स्यूरी दलित समुदायको घनाबस्ती भएको नमुना वडा भएको उल्लेख गर्दै जनयुद्धकालमा तथा शान्ति प्रक्रियापछि पनि दलित विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले प्रत्यक्षतर्फका उम्मेदवार वर्षमान पुन मगर र समानुपातिकतर्फकी उम्मेदवार गीता गहतराजलाई विजयी गराउन तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, प्रेस सेन्टरका केन्द्रीय सचिव तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मानसिंह विश्वकर्मा ले दलित अधिकारका लागि नेपाली कम्युनिष्ट पार्टी मुक्तिदाताको भूमिकामा रहेको बताउँदै पुनः पार्टीलाई नै मतदान गर्न आग्रह गर्नुभयो। पहिलो पटक रोल्पाबाट दलित समुदायकी छोरी गीता गहतराजलाई समानुपातिक उम्मेदवार बनाइएको भन्दै दलित समुदायका सबै मतदातालाई उहाँको पक्षमा उभिन अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश समिति सदस्य खडक घर्तीमगर, नेपाल दलित मुक्ति मोर्चाकी प्रदेश समिति सदस्य मिना सुनार, वडा सदस्य एमजित विक लगायतको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाले विगतदेखि नै नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले गाउँमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था लगायतका पूर्वाधार निर्माणमा योगदान दिएको उल्लेख गर्दै यसपटक पनि तारा चिन्हमै मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।


