राेल्पा, माघ २९ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्य ले गाउँस्तरका जनताको समस्या अझै समाधान हुन नसकेको बताएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगढीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले गाउँकै ठूला नेताहरूले जनताको सुख–दुःख नबुझेको गुनासो व्यक्त गर्नुभयो।
आचार्यले स्थानीय विकास, रोजगारी, सडक, खानेपानी र सिँचाइ जस्ता आधारभूत आवश्यकता अझै अपूरै रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेल गाउँकै ठूला नेता भए पनि जनताको अवस्था ज्यूँका त्यूँ रहेको टिप्पणी गर्नुभयो। “देश बनायौं भन्नेहरू गाउँ नै बिर्सिएका छन्,” उहाँको भनाइ थियो।
आचार्यले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि टिप्पणी गर्दै सुशासनका एजेन्डामा अघि बढ्दा विभिन्न शक्ति केन्द्रबाट अवरोध सिर्जना हुने गरेको आरोप लगाउनुभयो। भुटानी शरणार्थी प्रकरण र सरकार परिवर्तनका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले ती विषयमा ठूला दलका नेताहरूको भूमिकामाथि प्रश्न उठाउनुभयो। उहाँले सुशासन, पारदर्शिता र कम्युनिष्ट एकताको आवश्यकतामा जोड दिँदै जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय बासिन्दा, कार्यकर्ता र मतदाताको उपस्थिति रहेको थियो।


