जेनजी विद्रोहको भावनाअनुसार कांग्रेस बदलिएको छः विश्वप्रकाश शर्मा

घोराही, माघ २७ । घोराहीमा नेपाली कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधवार सम्पन्न उक्त कार्यक्रम नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शासन गर्ने शैलीमा नागरिकको असन्तुष्टि पैदा भएकाले शासनलाई सुशासनमा बदल्न सबै लाग्नुपर्ने बताउनुभएको हो ।

‘शासन ठीक भएको भए जेनजी विद्रोह हुँदैनथ्यो, ०८४ मा हुने निर्वाचन ८२ मा गर्नुपर्ने अवस्था पनि आउँदैनथ्यो’– उपसभापति शर्माले भन्नुभयो– ‘नागरिकले शासनमा सुशासन मागे तर हामीले शासनलाई सुशासनमा बदल्न सकेनौं, अझै पनि सुशासन दिन सकिएन भने १० वर्षपछि अल्फा विद्रोह हुन्छ । शासन गर्ने ठाउँमा हिजो कांग्रेस भए पनि त्यो कांग्रेस बदलिएको उल्लेख गर्दै शर्माले बदलिएको कांग्रेसले जनतालाई सुशासन दिने प्रतिबद्धता जनाउनुभयो । हामीले फेरि सिंहदरबार जल्ने अवस्था आउन दिनुहुँदैन, नागरिकलाई सुशासन दिनुपर्छ ।’ उहाँले भन्नु भयो ।

‘निर्वाचनको बेला हामी बदलिन्छौं र सुशासन पनि दिन्छौं भनेर भाषण त जसले पनि गर्लान्, तर जेनजी विद्रोहको भावनाअनुसार कांग्रेस बदलिएको छ, बदलिएको कांग्रेसले सुशासन दिनसक्छ’– उपभापति शर्माले भन्नुभयो– ‘संसार बदल्ने हो भने सबैभन्दा पहिले आफू बदलिनुपर्छ, बदलिने कामको शुरुवात आफूबाटै गर्नुपर्छ । हामीले कांग्रेस बदलेर देखाएका छौं, अब सुशासनसहित देश बदल्छौं ।’

 

आगामी फागुन २१ को निर्वाचन नियमित निर्वाचन नभई विषम परिस्थितिमा हुन लागेको उल्लेख गर्दै विद्रोहपछिको परिस्थितिलाई निकास दिन निर्वाचन हुन लागेको बताउनुभयो । उहाँले विषम परिस्थितिको सामना गर्दै देशलाई निकास दिनसक्ने पार्टी कांग्रेस भएको दाबी गर्नुभयो । दाङ कांग्रेसलाई एक ढिक्का भएर निर्वाचनमा होमिन निर्देशन समेत दिनुभयो ।

नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. गोपाल दहित, प्रदीपराज शर्मा, लीला नेपाली, पूर्वकेन्द्रीय सदस्य कष्णकिशोर घिमिरे, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे, लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सांसद अनिता देवकोटा, पार्टी सहमहामन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार योगेन्द्र चौधरी, क्षेत्र नं. २ का उम्मेदवार किरण किशोर घिमिरे, क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरी, समानुपातिक उम्मेदवार देवीका नेपालीलगायतले बलियो सरकार निर्माण गर्न कांग्रेस एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस