गुलाफमा मतदान गर्न सुमित बुढा मगरको अपिल, जनअधिकार र सामाजिक न्यायलाई प्राथमिकता

काठमाडौं, माघ २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुमित बुढा मगरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘गुलाफ’ मा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन आम मतदातासमक्ष अपिल गर्नुभएको छ।

समानुपातिक उम्मेदवारका रूपमा चुनावी मैदानमा रहनुभएका बुढा मगरले जनताको अधिकार, समानता र सामाजिक न्यायका पक्षमा माओवादी केन्द्रले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै आफू निर्वाचित भए जनमुखी नीति तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रअनुसार जनयुद्धका घाइते, अपाङ्ग तथा सहिद परिवारका अधिकार व्यवहारमै सुनिश्चित गराउने, केन्द्रित शासन प्रणालीको सट्टा जनताको शासन स्थापित गर्ने, गुणस्तरीय तथा निःशुल्क शिक्षाको पक्षमा दृढतापूर्वक उभिने र श्रमिकको श्रमको सम्मान सुनिश्चित गर्ने मुख्य एजेन्डा रहेका छन्।

त्यसैगरी अन्याय र अत्याचारविरुद्ध सशक्त आवाज उठाउने, राज्यको पहुँचबाट पछाडि परेका वर्ग तथा क्षेत्रका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने तथा किसानका लागि गोंजा (जाँड) खेतीसम्बन्धी कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

समानुपातिक उम्मेदवार बुढा मगरले आफूलाई अवसर प्रदान गरिए राजनीतिक, सामाजिक तथा विकासका क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै लोकतन्त्र, मानवअधिकार र समाजवादको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस