घोराही–९ मा निर्मल आचार्यको कृषक तथा स्थानीय अगुवासँग अन्तरक्रिया, सिँचाइ र कृषि विकासलाई प्राथमिकता

दाङ, माघ २७ । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्यले घोराही उपमहानगरपालिका–९, अस्पाराका स्थानीय अगुवा तथा कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा स्थानीयस्तरमा देखिएका समस्या, कृषि उत्पादन वृद्धि र भौतिक पूर्वाधार विकासका विषयमा छलफल गरिएको थियो।

विशेषगरी सिँचाइ कुलोको मर्मत तथा व्यवस्थापनलाई प्राथमिकतामा राखी छिटो कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ। कृषकहरूले सिँचाइ सुविधाको अभावले उत्पादनमा प्रत्यक्ष असर परेको गुनासो राखेपछि आचार्यले सम्बन्धित निकायसँग समन्वय गरी कुलो मर्मत, विस्तार तथा दीर्घकालीन सिँचाइ व्यवस्थाका लागि पहल गरिने बताउनुभयो।

साथै कृषि उत्पादनको बजारीकरण, बाली सुधार र किसानका लागि उन्नत नस्ल विकास कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। स्थानीय उत्पादनलाई बजारसम्म सहज पहुँच दिलाउन सहकारी तथा समूहगत उत्पादन प्रणाली सुदृढ गर्नुपर्ने विषय पनि उठाइएको छ।भेटघाटका क्रममा युवालाई सकारात्मक सोचतर्फ प्रेरित गर्ने तथा लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि समुदायस्तरमै सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

यसैगरी खानेपानी तथा सिँचाइका लागि डिप बोरिङ निर्माण गर्ने र आवश्यक प्राविधिक तथा नीतिगत पहल अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। सहभागीहरूले कृषि, रोजगारी र सामाजिक विकाससँग जोडिएका कार्यक्रम विस्तार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस