दाङ, माघ २६ । नेपाली कम्युनिस्ट पार्टीका नेता निर्मल आचार्य दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा अगाडि आउनुभएको छ। लामो समयदेखि राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय आचार्यलाई पार्टीले जनताको प्रतिनिधित्व गर्ने विश्वासका साथ उम्मेदवार बनाएको हो।
वि.सं. २०३३ असार १५ गते दाङको माण्डवी गाउँपालिका–२ रातापानी (प्युठान) मा जन्मिनुभएका आचार्य हाल घोराही उपमहानगरपालिका–१७ मा स्थायी बसोबास गर्दै आउनुभएको छ। उहाँका पिता लोकराज आचार्य र माता टोप्रला आचार्य हुनुहुन्छ। वि.सं. २०५२ को जनयुद्धकालदेखि नै कठिन भूमिगत जीवन र संघर्षपूर्ण राजनीतिक यात्रामा सक्रिय रहनुभएका आचार्यले विभिन्न आन्दोलन र संघर्षमा सहभागी हुँदै राजनीतिक अनुभव हासिल गर्नुभएको छ।
विद्यार्थी आन्दोलनका क्रममा पटक–पटक गिरफ्तारी भई तुलसीपुर र घोराही कारागारमा नजरबन्दसमेत हुनुभएको थियो। आचार्यले २०५४ सालमा अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो भने २०५५ साल फागुन १५ देखि २०५६ वैशाख ७ सम्म सशस्त्र संघर्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। साथै २०५८ मंसिर ११ गते तत्कालीन नेकपा (माओवादी) को भूमिगत राजनीतिक यात्रामा पनि सहभागी हुनुभएको थियो। शैक्षिक रूपमा आचार्यले दाङका विभिन्न विद्यालय तथा क्याम्पसबाट अध्ययन पूरा गर्नुभएको छ।
साहित्य क्षेत्रमा पनि सक्रिय उहाँका कथा, कविता, समालोचना, यात्रा र संस्मरण विधाका रचनाहरू प्रकाशित छन्। करिब दुई दशकभन्दा बढी समयदेखि राजनीतिमा क्रियाशील आचार्यले दाङ जिल्लामा सामाजिक परिवर्तन, सांस्कृतिक चेतना र जनहितका सवालमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। गणतन्त्रको रक्षाका लागि स्पष्ट राजनीतिक दृष्टिकोण राख्ने आचार्यलाई युवापुस्ताले भरोसायोग्य नेतृत्वका रूपमा हेरेका छन्। पार्टीका अनुसार, लामो संघर्ष, इमान्दारिता र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण आचार्य दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि सशक्त उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको हो।


