घोराहीमा तय गरिएको र्‍यालीको स्वरूप परिवर्तन गर्दै नेकपाले घरदैलो अभियानलाई प्राथमिकता

दाङ, १८ फागुननेपाली कम्युनिष्ट पार्टी दाङ क्षेत्र नं. २ ले आज घोराहीमा आयोजना गर्ने भनिएको चुनावी प्रचार र्‍यालीको स्वरूप परिवर्तन गरेको छ। निर्वाचन परिचालन समितिको निर्णयअनुसार र्‍याली कार्यक्रम परिमार्जन गर्दै अब गाउँ–गाउँ र टोल–टोलमा केन्द्रित घरदैलो अभियानलाई तीव्रता दिइने भएको हो।

निर्वाचन परिचालन समितिका संयोजक **हेमराज शर्मा ‘डायमण्ड’**ले कार्यक्रमको स्वरूप परिवर्तन गरिएको जानकारी दिँदै नेता तथा कार्यकर्तालाई गाउँ–टोलमै केन्द्रित भई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिइएको बताउनुभयो। उहाँका अनुसार जनताको घरदैलोमा पुगेर समस्या, सुझाव र अपेक्षा बुझ्नु अहिलेको प्रमुख प्राथमिकता भएकाले र्‍यालीभन्दा प्रत्यक्ष संवादलाई जोड दिइएको हो।

“चुनावी माहोललाई अझ प्रभावकारी बनाउन र मतदातासँग नजिकिएर छलफल गर्न घरदैलो कार्यक्रमलाई व्यापक बनाइएको हो,” संयोजक शर्माले भन्नुभयो, “नेता–कार्यकर्तालाई गाउँ–गाउँमा परिचालित गरिसकिएको छ।”

घरदैलो कार्यक्रममा दाङ–२ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार निर्मल आचार्य सहित समानुपातिकतर्फका उम्मेदवार भिम कुमारी बुढा मगर र  ससमति चौधरी लगायतले विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारहरूले विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना एजेन्डा प्रस्तुत गर्ने जनाइएको छ।

पार्टी स्रोतका अनुसार पछिल्ला दिनहरूमा गाउँबस्तीमा मतदाताको उत्साह उल्लेखनीय रूपमा बढिरहेको छ। घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद हुँदा आपसी विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ। स्थानीय नागरिकका गुनासा, सुझाव तथा माग संकलन गरी भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता पनि उम्मेदवारहरूले व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा दाङ–२ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना एजेन्डासहित मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन्। यसै सन्दर्भमा नेकपाले र्‍यालीको सट्टा घरदैलो अभियानलाई प्राथमिकता दिने निर्णयलाई रणनीतिक रूपमा हेरिएको छ।

पार्टीले आगामी दिनहरूमा पनि टोल–टोलमा केन्द्रित कार्यक्रममार्फत मतदातासँग नजिकिने, जनभावना बुझ्ने र आफ्ना प्रतिबद्धता स्पष्ट पार्ने निर्वाचन परिचालन समितिले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस