झक्कु सुवेदीले वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरे, जवाफमा प्रचण्डले के भने ?

रोल्पा, १७ फागुन  । नेपाली कम्युनिष्ट पार्टी रोल्पाले सदरमुकाम लिबाङमा शनिबार चुनावी सभा आयोजना सम्पन्न भयाे। सभामा पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन (अनन्त) तथा नेता झक्कु सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो।

सभामा बोल्दै नेता सुवेदीले वर्षमान पुन रोल्पाको मात्र होइन, समग्र पार्टी र मुलुककै नेतृत्व लिन सक्षम नेता भएको दाबी गर्नुभयो।
“हाम्रो पार्टीका उम्मेदवार कमरेड वर्षमान पुन अनन्तलाई देश कसरी चलाउने भन्ने राम्रोसँग थाहा छ,” उहाँले भन्नुभयो, “महान जनयुद्धका क्रममा उहाँ कुशल जनमुक्ति सेनाका कमाण्डरका रूपमा र पार्टीको नेताका रूपमा प्रभावकारी रूपमा काम गर्नुभएको छ।”

पार्टी नेतृत्वले जहाँ जिम्मेवारी दिए पनि पुनले सफलतापूर्वक पूरा गर्दै आएको उल्लेख गर्दै सुवेदीले उहाँ पार्टीभित्र नयाँ पुस्ताका सबैभन्दा क्षमतावान नेतामध्ये एक भएको बताउनुभयो।
“भोलिका दिनमा पार्टीको अध्यक्ष भएर काम गर्ने क्षमता उहाँसँग छ,” सुवेदीले भन्नुभयो, “त्यति मात्र होइन, भोलि यो देशको प्रधानमन्त्री भएर युवा पुस्ताबाट मुलुकको नेतृत्व गर्ने क्षमता पनि उहाँले राख्नुहुन्छ।”

सुवेदीको भनाइपछि उम्मेदवार पुन र त्यसपछि संयोजक प्रचण्डले सम्बोधन गर्नुभयो। प्रचण्डले सुवेदीको भनाइमा सहमति जनाउँदै वर्षमान पुनमा मुलुकको नेतृत्व लिन सक्ने क्षमता आफूले स्पष्ट रूपमा देखेको बताउनुभयो।

उहाँले रोल्पाली मतदातालाई वर्षमान पुनलाई रेकर्ड बन्ने गरी अत्यधिक बहुमतले विजयी गराउन अपील गर्दै भन्नुभयो, “कमरेड वर्षमान पुनलाई तारा चुनाव चिह्नमा मतदान गरेर फेरि एकचोटि रोल्पाले नयाँ रेकर्ड बनाएको देख्न चाहन्छु।”

वर्षमानलाई जितेपछि के जिम्मेवारी दिने भन्ने विषय आफ्नो जिम्मा भएको बताउँदै प्रचण्डले पुनप्रति आफूले ठूलो अपेक्षा र भरोसा राखेको उल्लेख गर्नुभयो।
“देशका लागि, जनताका लागि र समाजवादको नयाँ यात्रा सुरु गर्न उहाँले गम्भीर र जिम्मेवार भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “नेतृत्वको हैसियतले मेरो सदैव उहाँलाई साथ रहनेछ।”

सभामा अन्य वरिष्ठ नेताहरू — कृष्णबहादुर महरा, जोखबहादुर महरा र झक्कु सुवेदीलगायतको उपस्थितिलाई उल्लेख गर्दै प्रचण्डले वर्षमान पुनलाई लिएर आफूले धेरै सपना र अपेक्षा राखेको पनि बताउनुभयो।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस