निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि पुष्पकमल दाहाल (प्रचण्ड)को अपील

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नुभएको छ। उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभएको छ।

सम्बोधनका क्रममा उहाँले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण तथा ताजा जनादेशका लागि लिएको अडानको उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने उहाँको भनाइ छ।

सरकारको नेतृत्वमा रहँदा सुशासनको सुरुआत गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उहाँले बताउनुभयो। सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले संसद्का पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोपसमेत उहाँले लगाउनुभयो।

त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरिएको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गरी नेपाल कम्युनिष्ट पार्टीलाई मत दिने विश्वास व्यक्त गर्नुभयो।

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै उहाँले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको बताउनुभयो।

 भिडियाेः https://www.facebook.com/share/v/1C7QWahJYP/

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस