मुलुकलाई गम्भीर राजनीतिक संकटबाट जोगाउन अहिलेको निर्वाचन अपरिहार्यः प्रचण्ड

काठमाडौँ , फागुन १६ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले मुलुकलाई गम्भीर राजनीतिक संकटबाट जोगाउन अहिलेको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ।

शनिबार रोल्पा स्थित लिवाङ मा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने मुख्य दायित्व अहिले नेपाली जनताकै हातमा आएको बताउनुभयो।

देशभित्र र बाहिरबाट सक्रिय दलाल प्रवृत्तिले राष्ट्रलाई जोखिममा पारिरहेको दाबी गर्दै दाहालले वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्तो परिस्थितिमा नागरिकले सही अवस्था बुझेर जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ।

दाहालले गत भदौ २३ र २४ मा देखिएको जेन–जीको विद्रोहपछि उत्पन्न परिस्थितिले मुलुकलाई निर्वाचनको दिशामा अघि बढाएको बताउनुभयो। ती घटनापछि उठेका मागहरूको केन्द्रमा निर्वाचन नै रहेको उल्लेख गर्दै उहाँले अब नयाँ ढंगबाट राजनीतिक यात्रा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

यसपटक हुन लागेको निर्वाचन सामान्य अवस्थाको नभई असहज र जटिल परिवेशमा हुन लागेको भन्दै उहाँले अहिले देशमा दुई प्रकारका अतिवादी प्रवृत्ति सक्रिय रहेको बताए। ती प्रवृत्तिलाई जनतामाझ स्पष्ट रूपमा उजागर गर्दै परास्त गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

भदौ २३ र २४ का घटनाबाट सिर्जित अस्थिरता र त्यसका पछाडि रहेका शक्तिलाई पराजित गर्दै समाजवादतर्फ अघि बढ्ने नयाँ अभियान सुरु गर्ने योजना रहेको दाहालले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस