
दाङ, फागुन ८ । दाङको घोराहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभा शुक्रबार सम्पन्न भएको छ।
आमसभामा रास्वपाका पार्टि सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने कार्यतालिका रहे पनि बालेन्द्र शाहको स्वास्थ्यमा समस्या आएपछि उहाँ सभामा उपस्थित हुन नसकेको बताइएको थियो।

सभामा केन्द्रीय सभापति रवि लामिछानेसहित दाङ क्षेत्र नं. १ का उम्मेदवार देवराज पाठक, दाङ क्षेत्र नं. २ का उम्मेदवार बिपिन कुमार आचार्य, दाङ क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी, रोल्पा जिल्लाका उम्मेदवार बालाराम थापा तथा प्युठान जिल्लाका उम्मेदवार सुशान्त वैदिक ले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
शुक्रबार सम्पन्न उक्त आमसभामा पार्टीका नेता–कार्यकर्ता, पार्टीमा आबद्ध व्यक्तिहरू तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले भदौ २३ र २४ गते घटेका घटनाप्रति दुःख व्यक्त गर्दै पुराना दलहरूले करिब ३५ वर्षसम्म पनि देशलाई विकासको बाटोमा अघि बढाउन नसकेको आरोप लगाउनुभयो। उहाँले अबको वास्तविक विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएको उल्लेख गर्नुभयो।
सभापति लामिछानेले भन्नुभयो, “दाङमा रहेको थारु समुदायको कला र संस्कृतिलाई केवल एउटा जातिसँग मात्र सीमित गरेर होइन, पहिचान र साझा संस्कृतिका रूपमा हेर्नुपर्छ।”
आफ्नो गृहमन्त्री कार्यकालमा भ्रष्टाचार र तस्करीविरुद्ध उठाएको आवाजकै कारण संसदबाट बाहिर निकाल्ने प्रयास गर्ने समेत यसै क्षेत्रमा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “३५ वर्षसम्म पुराना दलहरूलाई विश्वासको मत दिँदा पनि देशमा परिवर्तन हुन सकेन। यही कुशासन र व्यवस्थाको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो।”
त्यस्तै, दाङ क्षेत्र नं. २ का उम्मेदवार बिपिन कुमार आचार्यले दाङका विकासका हरेक क्षेत्र, पूर्वाधार तथा समग्र दाङवासीका आवश्यकतालाई परिवर्तनको बाटोमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “दाङको समग्र विकास र जनताको आवश्यकतालाई केन्द्रमा राखेर अब नयाँ ढङ्गले काम गर्ने समय आएको छ। दाङलाई परिवर्तनको यात्रामा अघि बढाउने हाम्रो साझा जिम्मेवारी हो।”
त्यस्तै दाङ क्षेत्र नं. १ का उम्मेदवार देवराज पाठकले दाङको कृषि, रोजगारी तथा युवालक्षित कार्यक्रम लगाएत समग्र पक्षलाइ प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
दाङ क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारको सुधार बिना समृद्धि सम्भव नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “जनताको दैनिकीसँग जोडिएका शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सेवा सुधार नगरी परिवर्तन सम्भव हुँदैन।
कार्यक्रममा बोल्दै रोल्पा जिल्लाका उम्मेदवार बालाराम थापाले पछाडि पारिएका पहाडी तथा दुर्गम बस्तीहरूको विकास अब प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “रोल्पाका दुर्गम बस्तीहरू अझै पनि आधारभूत सेवाबाट टाढा छन्। अबको प्रतिनिधित्वले जनताको पहुँचमै सरकार ल्याउने काम गर्नेछ।”
त्यसैगरी प्युठान जिल्लाका उम्मेदवार सुशान्त वैदिकले युवाको पलायन रोक्ने गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,
“प्युठानका युवालाई विदेश जान बाध्य हुने अवस्थाको अन्त्य गर्न स्थानीय उद्योग, कृषि र सीपमूलक कार्यक्रमलाई अघि बढाइनेछ। विकासलाई कागजमा होइन, व्यवहारमै देखिने बनाइनेछ।”
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम अंकित झण्डा फहराउँदै उत्साहका साथ उम्मेदवारहरूलाई स्वागत गरेका थिए।

