दाङ, फागुन ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपालिकाले बृहत् जनभेटघाट कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको शुभारम्भ आज गाउँपालिकाको वडा नं. ३, मुलाबारीमा विशेष कार्यक्रमका साथ गरिएको हो।
कार्यक्रममा दाङ क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार निर्मला आचार्य, समानुपातिक उम्मेदवार सस्मती चौधरी, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा बोल्दै उम्मेदवार आचार्यले बंगलाचुली क्षेत्र जनयुद्धको आधार इलाका भएको स्मरण गराउँदै परिवर्तनका लागि यहाँका नागरिकले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो। उहाँले विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समानुपातिक उम्मेदवार चौधरीले जनताको सुझाव र सहभागितालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने बताउँदै जनविश्वासको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा निर्वाचन परिचालन संयोजक **सिर बहादुर राणा**को अध्यक्षतामा सम्पन्न कार्यक्रमले स्थानीय मतदातामा उत्साह थपेको आयोजकले जनाएको छ। आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरूमा पनि जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।


