दाङ, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले कर्णालीको वास्तविक पीडा, सम्भावना र गहिराइलाई आत्मसात् गर्ने राजनीतिक शक्ति आफ्नो पार्टी रहेको दाबी गरेका छन्।
सुर्खेतमा आयोजित चुनावी सभा तथा वाचापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीलाई ‘शिवभूमि’को संज्ञा दिँदै त्यहीँबाट प्रतिबद्धता सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। “शिवको पाउमा उभिएर वाचापत्र घोषणा गर्न पाउँदा गर्व लागेको छ,” उनले भने।
कर्णालीको प्राकृतिक र भौगोलिक विशेषताबारे चर्चा गर्दै उनले यहाँ अवस्थित रारा ताल लाई स्मरण गरे। पूर्वराजा महेन्द्र वीर विक्रम शाह ले रारालाई ‘स्वर्गकी अप्सरा’सँग तुलना गरेको उल्लेख गर्दै बालेनले देशकै सबैभन्दा लामो नदी, ठूलो जिल्ला, विशाल गाउँपालिका र गहिरो ताल रहेको कर्णालीको महत्व राज्यले अझै नबुझेको टिप्पणी गरे। “यो गहिराइलाई न कुनै सरकारले, न कुनै दलले सही रूपमा बुझेको छ। हामी त्यसलाई बुझ्न चाहन्छौँ,” उनले जोड दिए।
उनले कर्णालीका स्थानीय उत्पादनको बजारीकरण हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। डोल्पाको यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर जुम्लाको स्याउ र मार्सी चामल देशका विभिन्न जिल्लामा समेत सहज रूपमा नपुग्नु विडम्बना भएको उनको भनाइ थियो। “यहाँको उत्पादन कम्तीमा देशभर पुर्याउने वातावरण बनाउने लक्ष्य रास्वपाको हो,” उनले स्पष्ट पारे।
यसैगरी, कर्णालीलाई सिञ्जा सभ्यता, नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा आफ्नो पार्टी प्रतिबद्ध रहने उनले बताए। “कर्णालीको गरिबी र दुःखलाई भोटको साधन बनाउने प्रवृत्ति धेरै देखियो, तर समाधान खोज्ने प्रयास कम भयो। हामी बुझ्ने र काम गर्ने शक्ति बन्न चाहन्छौँ,” उनले भने।


