रोल्पा, फागुन ६ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ रोल्पा आउने कार्यक्रम तय भएको छ। पार्टीले सार्वजनिक गरेको चुनावी तालिकाअनुसार विभिन्न स्थानमा भेटघाट र चुनावी सभा आयोजना गरिने जनाइएको छ।
पार्टीका अनुसार फागुन ७ गते सुलिचौरमा भेटघाट कार्यक्रम हुनेछ भने फागुन ८ गते बिहान लिवाङमा पत्रकार, बुद्धिजीवी र व्यापारीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। सोही दिन दिउँसो २ बजे घर्तिगाउँमा भेटघाट कार्यक्रम तय गरिएको छ। फागुन ९ गते बिहान ११ बजे सुकाओढारमा चुनावी सभा आयोजना हुने कार्यक्रम रहेको छ।
पार्टीले “देशभित्र विदेशी बुट बजार्दा चुइक्क बोल्न नसक्नेले देश बचाउँछ भन्ने विश्वास गर्न सकिँदैन” भन्ने नारासहित गुलाफ चुनाव चिह्नमा मतदान गर्न आम नागरिकलाई अपिल गरेको छ। साथै, त्यागी, साहसी र निडर नेतृत्वसँग सहकार्य गर्न पनि मतदातालाई आग्रह गरिएको छ।
रोल्पामा हुने यी कार्यक्रममार्फत पार्टीले आफ्नो चुनावी एजेन्डा, राष्ट्रियता, स्वाधीनता र समृद्धिका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।


