दाङ, फागुन ६ । तकसेरा समाज सेवा समिति दाङले नेपाली कम्युनिस्ट पार्टी दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार निर्मल आचार्य तथा समानुपातिक उम्मेदवार भीमकुमारी बुढा मगर र सस्मती चौधरी लाई स्वागत गर्दै जितको शुभकामना व्यक्त गरेको छ।

समाजका अध्यक्ष मित्रलाल बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उम्मेदवार निर्मल आचार्य सहभागी हुनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा समानुपातिक उम्मेदवार भीमकुमारी बुढा मगर सहभागी हुनु भएको थियो।
समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि निर्मल आचार्यले पूर्वी रुकुम मा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारका रूपमा रहनु भएको जानकारी गराउँदै, उहाँसँगको सहकार्यमा समग्र क्षेत्रको विकासलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तकसेरा लगायत पूर्वी रुकुमका गाउँ–बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो। साथै, मगर कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
विशिष्ट अतिथि भीमकुमारी बुढा मगरले सामाजिक एकता र पहिचानको संरक्षणसँगै महिलाको सशक्तीकरणलाई प्राथमिकतामा राखेर विकासको अभियान अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले मगर समुदायको कला, भाषा र संस्कृतिको संरक्षणका लागि राज्यस्तरबाट नीतिगत पहल आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष मित्रलाल बुढा मगर तथा सल्लाहकार दुर्गा बहादुर बुढा मगरले तकसेरा गाउँको समग्र विकासका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्दै उम्मेदवार आचार्यको सफलताको कामना गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्दै विकास र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको सहजीकरण समाजका महासचिव नरेन्द्र बुढामगरले गर्नुभएको थियो।


