घाेराही, फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते देश ब्यापिरूपमा आयोजना गरेको नेपाल बन्दले घोराही मा खासै प्रभाव पारेको देखिएको छैन।

पार्टीले माघ २५ गत्ते सुचना सार्वजनिक गर्दै फागुन २१ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आह्वान गरेको फागुन ५ गतेको एकदिने नेपाल बन्दलाई अभूतपूर्व र ऐतिहासिक बनाउन सहयोग तथा समर्थनका लागि सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायात व्यवसायी, व्यापारी, विद्यालय–कलेज, बुद्धिजीवी तथा सञ्चार जगतलाई अनुरोध गरिएको थियो।

तर घोराहीको अवस्था हेर्दा बिहान सञ्चालन हुने कलेज तथा क्याम्पसहरू भने बन्द रहेका थिए। यातायात व्यवसायतर्फ हेर्दा भने बन्दको खासै प्रभाव परेको देखिँदैन। सडकमा लामो तथा छोटो दूरीका सवारीसाधनहरू अन्य दिनझैँ चहलपहलका साथ गुडिरहेका छन्। यातायात समितिहरूका अनुसार आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधनहरू आवतजावत गरिरहेका छन् र अहिलेसम्म कुनै प्रभाव नपरेको बताएका छन्।

बजार क्षेत्र, विशेषगरी तुलसीपुर चोक, सहिद गेट, बी.पी. चोक, लखन पार्क र बसपार्क लगायतका स्थानमा नेपाल सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा ट्राफिक प्रहरी का सुरक्षाकर्मीहरू खटिएका छन्।
तर व्यापार–व्यवसायहरू भने सञ्चालनमै रहेका छन्। आज घोराहीको समग्र अवस्था हेर्दा बन्दको खासै प्रभाव परेको देखिँदैन। फरक यति मात्र देखिएको छ कि सडकमा सुरक्षाकर्मीहरू खटिएका छन् र विद्यालयका गाडीहरू सडकमा गुडिरहेका छैनन्।

कतिपय व्यवसायी, यातायात व्यवसायी तथा व्यापारीलाई बन्दको सूचना नै थाहा नभएको समेत पाइएको छ। यद्यपि, दिउँसोसम्म केही प्रभाव पर्न सक्ने देखिएको छ।



