होलीको शुभकामनासँगै स्वच्छ र मर्यादित निर्वाचनका लागि वर्षमान पुनको अपिल

राेल्पा , फागुन १८ । रोल्पा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार, बर्षमान पुनले फागु पूर्णिमा (होली) को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै पुनले होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई असत्यमाथि सत्यको विजय र आपसी मनमुटाव भुलाएर खुसी साटासाट गर्ने सांस्कृतिक उत्सव भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने शक्ति यस पर्वमा निहित छ।

शुभकामनासँगै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनप्रति पनि ध्यानाकर्षण गराउनुभयो। मङ्गलबारदेखि ‘मौन अवधि’ सुरु हुने सन्दर्भमा उहाँले रोल्पाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो मताधिकार सुरक्षित र सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उहाँले राजनीतिक दलहरू, निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई पनि विशेष अपिल गर्नुभएको छ।

उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। मतदाताहरूले निर्धक्क भएर आफ्नो प्रतिनिधि छान्ने वातावरण बनाउनु हामी सबैको साझा दायित्व हो। त्यसैले शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग मेरो हार्दिक अनुरोध छ।”

हाल घरदैलो अभियान तथा अन्तिम चुनावी तयारीमा व्यस्त रहेका पुनले कार्यव्यस्तताका कारण सामाजिक सञ्जालमा पर्याप्त समय दिन नसकेकोमा क्षमा समेत माग्नुभएको छ। उहाँ अहिले रोल्पाका विभिन्न बस्ती र टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, समस्या सुनुवाइ तथा आफ्ना एजेन्डा प्रस्तुत गर्ने कार्यमा सक्रिय हुनुहुन्छ।

उहाँले होलीमा रङ्ग लगाएर खुसी मनाएझैँ निर्वाचनमा पनि उत्साहपूर्वक सहभागिता जनाई आफ्नो पक्षमा मत दिन मतदातालाई आह्वान गर्नुभएको छ। रोल्पाको विकास, पूर्वाधार निर्माण तथा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्दै उहाँले रोल्पाली जनताले पुनः सही निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो।

अन्त्यमा, उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूलाई मर्यादित रूपमा होली मनाउन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पुनः अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस