घाेराहीमा “निर्वाचन र आमसञ्चार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही, फागुन १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लास्थित सञ्चारकर्मीहरूसँग “निर्वाचन र आमसञ्चार” विषयक अन्तरक्रिया कार्यक्रम घाेराहीमा सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालकाे अध्यक्षतामा घोराही उपमहानगरपालिका–१५ मा रहेको प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको हो।

अन्तरक्रियामा आयोगले “निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता” विषयलाई केन्द्रमा राख्दै हालसम्म सम्पन्न मुख्य गतिविधि, मतदाता शिक्षा कार्यक्रम, आचारसंहिता कार्यान्वयन, उजुरी तथा गुनासो व्यवस्थापन, निर्वाचन पर्यवेक्षण र सुरक्षा व्यवस्थाबारे जानकारी दिएको थियो।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दल र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ राजनीतिक दल दर्ता भएका छन्। प्रत्यक्षतर्फका उम्मेदवारमध्ये १ हजार ७ सय ७२ जना महिला र १ हजार ३ सय ६३ जना पुरुष रहेका छन्।

उमेर समूहका आधारमा ३० वर्षभन्दा कम उमेरका २६१ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १ हजार ८३ जना, ६१ देखि ७० वर्ष समूहका ३५९ जना तथा ८१ वर्षभन्दा माथिका ६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ।

आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभर ७५३ वटै स्थानीय तहका ६ हजार ७ सय ८३ वडामा ६ हजार ७ सय ८३ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जानकारी दिएको छ। स्वयंसेवकहरू २०८२ फागुन ३ गतेदेखि १७ गतेसम्म १५ दिन घरदैलो तथा विद्यालयस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन्।

यस्तै, निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला स्तरमा अनुगमन समिति सक्रिय बनाइएको, इमेल, कल सेन्टर तथा निर्वाचन सूचना तथा समन्वय केन्द्रमार्फत उजुरी तथा गुनासो संकलन गरी छिटो फछ्र्योट गर्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ।

निर्वाचन सुरक्षाअन्तर्गत निर्वाचन कार्यालय, कर्मचारी, उम्मेदवार तथा दलका कार्यालय, निर्वाचन सामग्री, सभा–जुलुस तथा मतदाताको सुरक्षाका लागि छुट्टै सुरक्षा योजना बनाई कार्यान्वयन भइरहेको पनि जनाइएको छ।

कार्यक्रममा आयोगले आम सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत तथ्यपरक, सरल र स्पष्ट सूचना प्रवाह गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको थियो।

शुक्रबार घाेराहीमा सम्पन्न उक्त कार्यक्रमा आयोगका प्रतिनिधि कर्मचारीहरू लगाएत जिल्लामा क्रियासिल संचारकर्मिहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८२ फाल्गुन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस