दाङ , फागुन ४ । आम जनता पार्टी दाङ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी लाई औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेको छ।
दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका आम जनता पार्टीका जिल्ला अध्यक्ष कृष्णबहादुर बिक ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपाका उम्मेदवार निर्मल आचार्य लाई समर्थन गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो।
घोषणा कार्यक्रममा बोल्दै बिकले नेपाली जनताको न्याय र मुक्तिका लागि नेकपा सक्षम शक्ति भएको दाबी गर्नुभयो। उहाँले गरिब किसान, मजदुर, सामाजिक रूपमा विभेदमा परेका समुदाय, लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित नागरिकका मुद्दालाई साझा एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै आर्थिक सुधारमुखी योजना, वित्तीय शोषणको अन्त्य र श्रमको सम्मानमा समान धारणा बनेपछि समर्थनको निर्णय गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा उम्मेदवार आचार्यले समर्थन संख्याको आधारमा नभई साझा योजना र मुद्दाका आधारमा भएको उल्लेख गर्नुभयो। उहाँले मिटरब्याज पीडित, उखु किसान, युवा रोजगारी, दलित, महिला तथा सीमान्तीकृत समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो।
आचार्यले तत्कालीन नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउँदा ठूला नेतामाथि छानबिन सुरु भएपछि सरकार ढलेको प्रसंगसमेत उल्लेख गर्नुभयो। उखु किसान र लघुवित्त पीडितका विषयमा सरकारले काम गरेको दाबी गर्दै उहाँले जनताको न्याय र मुलुकमा सुशासन स्थापना आफ्नो मुख्य लक्ष्य भएको बताउनुभयो।
यस्तै, नवपुस्ता आन्दोलनका भदौ २३ र २४ गतेका आन्दोलनको जिम्मेवारी सत्ता साझेदार दलहरूले लिनुपर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिमा राष्ट्र निर्माणका लागि नेकपा नै राष्ट्रवादी शक्ति भएको उहाँको भनाइ थियो।


