प्रतिनिधिसभा निर्वाचनका लागि भीमकुमारी बुढाको अपिल: ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

काठमाडौं, फागुन ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार भीमकुमारी बुढाले मतदातासमक्ष नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरेकी छन्। बुढाले जारी गरेको अपिलमा संविधानको पूर्ण कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र जनताको अधिकारको रक्षा आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख छ। उनले संविधान निर्माणमा जनताको रगत, आँसु र पसिनाको योगदान रहेको स्मरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छन्।

अपिलमा समानुपातिक निर्वाचन प्रणालीलाई लोकतान्त्रिक समावेशीताको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरिएको छ। यस प्रणालीमार्फत महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने उल्लेख गर्दै उनले विगतका आन्दोलन र संघर्षको उपलब्धि जोगाउन मतदाताको साथ आवश्यक रहेको बताएकी छन्।

बुढाले राजनीतिक स्थिरता, सामाजिक न्याय र समावेशी विकासमार्फत नयाँ नेपालको निर्माणमा कम्युनिस्ट शक्तिको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्। विभिन्न कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरेकी छन्।

अन्त्यमा, उनले सबै मतदाता, शुभेच्छुक तथा समर्थकलाई आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ‘तारा’ मा अमूल्य मत प्रदान गर्न हार्दिक अनुरोध गरेकी छन्

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस