सेतोपाटिलाई कारबाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

दाङ, फागुन ४ । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारहरूको मनोनयन र मत परिणामसम्बन्धी भ्रामक समाचार प्रकाशन गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। आयोगले यस सम्बन्धमा प्रेस काउन्सिललाई पत्र पठाएको छ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार, मिति २०८१/११/०३ गते चितवन–३ मा सोविता गौतमले जित्ने र रेणु दाहाल दोस्रो हुने जस्ता शीर्षकमा प्रकाशित समाचार तथा मिति २०८१/११/०४ गते “भोट रास्वपालाई दिने हो तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ” भन्ने समाचारहरू निर्वाचन आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ:

“उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी मत सर्वेक्षण गर्न वा यसको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने” र
“कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने”

यी व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (ख) र दफा २५ (१) (ख) मा स्पष्ट उल्लेख छन्। उल्लिखित समाचारहरूले यी व्यवस्थाको प्रतिकूल कार्य गरेको आयोगले निष्कर्ष निकालेको छ।

चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोविता गौतम प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्। यो क्षेत्र हाल निर्वाचनको चर्चित ‘हट सिट’ बनेको छ। आयोगले भ्रामक समाचार प्रकाशनले स्वतन्त्र तथा निष्पक्ष निर्वाचन प्रक्रियामा असर पार्ने भएकाले प्रेस काउन्सिल नेपाल, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूलाई तत्काल आवश्यक कारबाही गर्न अनुरोध गरेको छ।

आयोगले सबै सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस