घोराहीमा आटो व्यवसायीहरूद्वारा सांसद निर्मल आचार्यलाई स्वागत र सम्मान

घोराही, फागुन ४ । राप्ती अञ्चल अटो इन्जिनियरिङ एशोसियसनले नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार निर्मल आचार्यलाई स्वागत र सम्मान गरेको छ। कार्यक्रम एशोसियशन अध्यक्ष ज्ञानु फौदार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

स्वागत कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सदस्य रत्नराम बंजारा लगायतले अटो भिलेजका व्यवसायिक समस्या र चुनौतीबारे धारणा राखेका थिए। सहभागी व्यवसायीहरूले घोराही उपमहानगरपालिकाले अटो भिलेजप्रति पर्याप्त ध्यान नदिएको गुनासो गरे। अटो भिलेजमा करिब १,२०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब २०० लगानीकर्ताको लगानी रहेको छ। तर खोला कटान, अव्यवस्थित संरचना तथा वातावरणमैत्री पूर्वाधारको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या भइरहेको जनाइएको छ।

निर्मल आचार्यले अटो भिलेजको व्यवस्थापन, खोला नियन्त्रण तथा वातावरण अनुकूल व्यवसाय सञ्चालनका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए। श्रम र श्रमिकप्रतिको सम्मान संस्कृति कमजोर बन्दै गएको औँल्याउँदै उनले देखिएका समस्या समाधानका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

आचार्यले “एक शहर, एक व्यवस्थित अटो भिलेज” को अवधारणा अघि सारेका छन् र सरकारबाट नीतिगत सुधार तथा संरचनागत व्यवस्थापन आवश्यक रहेको बताए। सांसदको मुख्य काम नीति निर्माण र सुशासन कायम गर्नु भएको स्पष्ट पार्दै उनले बाटो वा कुलो निर्माणलाई व्यक्तिगत उपलब्धि भन्दै प्रचार गर्नु उचित नरहेको टिप्पणी गरे। साथै घोराही–तुलसीपुर फोरलेन सडक निर्माणका क्रममा भएको मानवीय क्षतिप्रति पनि संकेत गर्दै विकासका नाममा भएका कमजोरीहरूको जिम्मेवारी स्पष्ट हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस