रुकुमपूर्व, फागुन ४ । हिमाली चिसो हावा चलिरहेको पातीहाल्ना (बागलुङ–रुकुम सिमाना)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा सेताम्य हिउँले स्वागत गर्यो। २९ माघमा रुकुमपूर्व प्रवेश गर्नुभएका उहाँका हिउँमा रमाइरहेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित बने। यो भ्रमण केवल हिउँ खेल्नका लागि नभई, आफू प्रधानमन्त्री हुँदा अघि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधारभूमिमा नयाँ संकल्पसहित फर्किएको अवसरका रूपमा चित्रित गरिएको छ।
सात दिने मतदाता भेटघाट कार्यक्रमअन्तर्गत बितेका चार दिन (८४ घण्टा) औपचारिकभन्दा बढी अनौपचारिक र भावनात्मक बने। जनयुद्धसँग जोडिएका ऐतिहासिक स्थलको अवलोकन, सहिद परिवारसँग भेट, घाइते योद्धाको सम्मान तथा स्थानीयका समस्या सुन्दै विकासका प्रतिबद्धता जनाउनु उहाँको मुख्य कार्यसूची रह्यो। यसले स्थानीय मतदाता र कार्यकर्तामा उत्साह थपिएको देखिन्छ।
पहिलो दिन : हिउँदेखि भूमेसम्म न्यानो स्वागत
पातीहाल्नामा नेता–कार्यकर्ताले उत्साहपूर्ण स्वागत गरे। त्यहाँबाट उहाँ भूमे गाउँपालिका–१ लुकुम पुग्नुभयो। मध्यपहाडी राजमार्गसँग जोडिएको यस बस्तीमा स्थानीयले खाम मगर संस्कृतिअनुसार फेटा गुथेर स्वागत गरे।
उहाँले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टी प्रवेश गराउँदै लुगुमलाई नमुना गाउँ बनाउने घोषणा गर्नुभयो। टेलिफोन सेवाको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिँदै उहाँ खाबाङबगर पुग्नुभयो। स्थानीयसँग आगो ताप्दै अनौपचारिक संवाद गर्दै दिनको कार्यक्रम टुंगियो।
जनयुद्ध दिवस : लाबाङ–महतमा इतिहाससँग पुनर्मिलन
१ फागुन, ३०औँ जनयुद्ध दिवसका अवसरमा उहाँ लाबाङ पुग्नुभयो। २०६१ सालमा पोलिटब्यूरो बैठक बसेको ऐतिहासिक स्थलको अवलोकन गर्दै उहाँले विगतको स्मरण गर्नुभयो। स्थानीयले परम्परागत परिकारसहित स्वागत गरे।
त्यसपछि महत गाउँस्थित युद्ध स्मृति पार्क पुगेर पहिलो युद्धबन्दी साटफेरसँग सम्बन्धित संरचनाको अवलोकन गरियो। डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेरजस्ता घटनाको स्मरण गर्दै जनयुद्धको महत्त्वपूर्ण अध्याय पुनः चर्चामा आयो।
खाबाङबगरमा आयोजित कार्यक्रममा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धालाई सम्मान गरियो। साँझ चुनबाङको गैरिगाउँमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो।
चुनबाङदेखि तकसेरासम्म
२ फागुन बिहान चुनबाङको भेरीडाँडामा पुगेर उहाँले युद्ध संग्रहालय र ऐतिहासिक बैठकस्थल अवलोकन गर्नुभयो। यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेको थियो, जसले १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने बाटो खोलेको मानिन्छ।
निर्माणाधीन संग्रहालय, बैठक कक्ष तथा त्यस समय प्रयोग भएका स्थानहरूको अवलोकनपछि उहाँले स्थानीयसँग अन्तरक्रिया गर्नुभयो।
साँझ पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गतको पर्यटकीय क्षेत्र तकसेरा पुग्दा स्थानीयले भव्य स्वागत गरे। सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँ त्यहीँ बास बस्नुभयो।
चौथो दिन : गाउँ–बस्तीमा संवाद
३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै उहाँले दलित समुदायको घरमा आगो ताप्नुभयो। स्थानीयले जातीय विभेदमा आएको परिवर्तनबारे धारणा राखे।
बाछीगाउँ, बिर्गुन, पदमी, ओमखा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामलगायत बस्तीमा उहाँले स्थानीयसँग भेटघाट गर्नुभयो। सिस्ने हिमालको अवलोकन गर्दै तामाखानी र फलामखानीको सम्भावनाबारे छलफल भयो।
सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खाँदै उहाँले यहाँको संस्कृति र जीवनशैली विशिष्ट रहेको उल्लेख गर्नुभयो।
साँझ मैकोटमा आयोजित कार्यक्रममा उहाँले रुकुमपूर्वलाई विकासको नयाँ मोडेल बनाउने धारणा राख्नुभयो। “पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकास र समृद्धिका लागि आएको छु,” भन्दै उहाँले सामुदायिक समाजवादको अवधारणा प्रस्तुत गर्नुभयो।
समग्र मूल्यांकन
चार दिनको ८४ घण्टामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद परिवारको सम्मान, ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन, स्थानीयसँग प्रत्यक्ष संवाद र विकासका प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँसँग समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बुढा तथा नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत सहभागी थिए।
चार दिनको यो यात्रा केवल चुनावी अभियानमा सीमित नरही, जनयुद्धको स्मृति बोकेको जिल्लामा राजनीतिक पुनर्संवाद र भावनात्मक पुनर्मिलनका रूपमा चित्रित भएको छ। अब बाँकी कार्यक्रमले यस अभियानलाई कुन दिशातर्फ लैजान्छ, त्यो भने हेर्न बाँकी छ।


