चुनबाङबाट प्रचण्डको सन्देश: ‘आगो र कुशासनको राजनीति गर्नेहरू पराजित, गणतन्त्रका पक्षधर विजयी

रुकुम पूर्व , फागुन २ ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनमा आगजनी, भ्रष्टाचार, कुशासन र दमनको राजनीति गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ।

शनिबार अपराह्न रुकुम पूर्वको चुनबाङ मा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले पछिल्लो समय सम्पन्न बङ्गलादेश को निर्वाचन सन्दर्भ जोडेर टिप्पणी गर्नुभयो।

सिंहदरबार जलाइयो, संसद् भवन जलाइयो, अदालत जले, निजी सम्पत्ति र नागरिकका घरमा आगजनी भयो,” उहाँले भन्नुभयो, “अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू नै जित्नेछन्।”

संयोजक दाहालले बङ्गलादेशको निर्वाचनबाट नेपालले पनि पाठ सिक्नुपर्ने धारणा राख्नुभयो। “त्यहाँ पनि चुनावमा आगजनी गर्नेहरू नै जित्छन् भन्ने प्रचार थियो, तर अन्ततः आगो नचाहने र स्थिरता खोज्ने शक्तिहरू विजयी भए,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलो प्रभाव भएको दाबी गर्नेहरू समेत पछाडि परे। नेपालमा पनि हल्ला फैलाउनेहरूको मूल्यांकन जनताले गरिसकेका छन्।”

आगो, कुशासन, दमन र हिंसाको राजनीतिलाई रोल्पा–रुकुम क्षेत्रका जनताले राम्रोसँग बुझेको उल्लेख गर्दै उहाँले अब यही बुझाइ देशभर फैलिने विश्वास व्यक्त गर्नुभयो।

त्यसै अवसरमा संयोजक दाहालले रुकुम पूर्वलाई विकासको नयाँ अभ्यासको केन्द्र बनाउने प्रतिबद्धता समेत जनाउनुभयो। “तपाईंहरूले भरतपुर मा विकासको मोडेल देखिसक्नुभएको छ,” उहाँले भन्नुभयो, “अब रुकुम पूर्वमा पनि विकास र समाजवादको नयाँ मोडेल निर्माण गर्नेछौँ।”

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस