घोराही, फागुन १ । पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्दुकको संघर्षको चरण समाप्त भइसकेको उल्लेख गर्दै अब मुलुकको रूपान्तरणका लागि आर्थिक आत्मनिर्भरतामा आधारित नयाँ संघर्ष सुरु हुने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले ३०औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्व मा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आन्दोलनको स्वरूप परिवर्तन भइसकेकाले अब उत्पादन, रोजगारी र समृद्धिमार्फत क्रान्तिलाई अगाडि बढाइने बताए। उनले आफूहरू अझै परिवर्तनको प्रक्रियामै रहेको र अबको लडाइँ जनताको जीवनस्तर उकास्न केन्द्रित हुने स्पष्ट पारे।
उनले भ्रष्टाचारविरुद्ध, पारदर्शिता र आर्थिक आत्मनिर्भरताका लागि संघर्ष गरिने उल्लेख गर्दै उत्पादन वृद्धि गरेर देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको बताए। सोही क्रममा उनले रुकुम पूर्वका सबै ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।
शिक्षा क्षेत्रका विषयमा उनले ‘थोरै विद्यार्थी, धेरै विद्यालय’को सट्टा ‘हब स्कुल’ अवधारणाअन्तर्गत आवासीय सुविधा र दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गरिने बताए। साथै, रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरे।
मगर समुदायको पहिचान र स्वायत्तताका सन्दर्भमा उनले संविधानको मर्म र भावनाअनुसार मगर क्लस्टरलाई स्वायत्त क्षेत्रका रूपमा अघि बढाइ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने पहल गरिने दाबी गरे। त्यसैगरी, चुनवाङ बैठकस्थल, छापामार पदमार्ग तथा जनयुद्धसँग जोडिएका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने उनको भनाइ छ।
उनले लुम्बिनी प्रदेश सरकारद्वारा घोषणा गरिएको अर्गानिक जिल्लासम्बन्धी नीति तथा कानुन निर्माण, प्रमाणीकरण र बजार सुनिश्चित गरिने बताए। यससँगै टिमुर, स्याउ, सुन्तला, कागतीलगायत फलफूल, अर्गानिक तरकारी तथा अन्य बालीलाई ब्रान्डिङ गरी सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्याइने प्रतिबद्धता पनि जनाए।
प्रचण्डले आगामी निर्वाचनलाई जनयुद्धका उपलब्धि संरक्षण गर्ने पक्ष र ती उपलब्धिलाई उल्ट्याउन खोज्ने प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिबीचको निर्णायक चुनावका रूपमा चित्रण गरे।


