दाङ , फागुन १ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्मल आचार्यले कम्युनिस्ट आन्दाेलनले नै मुलुकलाई विकास उन्मुख समृद्ध राष्ट्र निर्माण गरेकाे बताएका छन् । नेपाली कम्युनिस्ट पार्टि घाेराही उपमहानगरपालिका वडा नं. १२ चुनाव प्रचारप्रसार समितिकाे सम्पर्क कार्यालय उद्घाटन सत्रमा आयोजित कार्यक्रममा आचार्यले कम्युनिस्ट आन्दोलनको इतिहास, बलिदान र उपलब्धिहरूको स्मरण गर्दै एकता र निरन्तरताको आवश्यकता औंल्याएका छन्। कार्यक्रममा बोल्दै नेताहरूले विगतमा कम्युनिस्ट आन्दोलनमाथि लगाइएका विभिन्न आरोप र भ्रमका बाबजुद संघर्ष र राजनीतिक परिवर्तन सम्भव भएको बताएका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले एक समय कम्युनिस्टहरूलाई सामाजिक मूल्य नमान्ने, हिंसामात्र गर्ने वा संघर्ष गर्न नसक्ने जस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै ती आरोपहरू व्यवहारबाट गलत सावित भएको दाबी गरे। आन्दोलनले सामन्ती संरचना अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भूमिका खेलेको उनीहरूको भनाइ थियो। कार्यक्रम एक पुरानो कम्युनिस्ट समर्थक परिवारको घरमा आयोजना गरिएको थियो। उक्त घरले जिल्लामा मोही अधिकार स्थापना र जनसंगठन विस्तारमा ऐतिहासिक योगदान दिएको चर्चा गरिएको थियो। स्थानीय अगुवा स्वर्गीय शिवराज गौतमको योगदानलाई विशेष रूपमा स्मरण गर्दै वक्ताहरूले उनको राजनीतिक र सामाजिक भूमिकाको प्रशंसा गरे। कार्यक्रममा जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा ज्यान गुमाउने सहिद, घाइते तथा बेपत्ता योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उनीहरूको बलिदानकै आधारमा वर्तमान राजनीतिक व्यवस्था स्थापित भएको वक्ताहरूको भनाइ थियो। वक्ताहरूले नेपालको संविधानले सुनिश्चित गरेको समावेशी व्यवस्था, समानुपातिक प्रतिनिधित्व र महिलाको न्यूनतम ३३ प्रतिशत सहभागितालाई आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। राज्यका निकायमा जनसंख्याको आधारमा सहभागिता विस्तार हुनु सकारात्मक परिवर्तन भएको धारणा राखिएको थियो। आगामी निर्वाचनलाई सामान्य प्रक्रिया नभई उपलब्धि रक्षा र नीतिगत सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा विभिन्न कमिटीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो


