रोल्पाको पीडा सदनमा पुर्‍याउन म चुनावी मैदानमा आएको हुँः चुडामनी वली

रोल्पा क्षेत्रमा माओवादी पार्टी  प्रतिनिधि सभा (संसद) को उम्मेदवार चुडामनी वलीसँगकाे सम्वादमा उहाँका केहि एजेन्डा/भनाइहरू 

राेल्पाबाट निर्वाचित भएर सदनमा पुगेर जनताका लागि नीति निर्माण गर्न म चुनावी मैदानमा आएको हुँ। जनयुद्धको उद्गम थलो तथा जनआधारको जिल्ला रोल्पाबाट उठेकाले यहाँका जनताको भावना, पीडा र अपेक्षा मैले नजिकबाट बुझेको छु। नेपाली विशेषतामा आधारित समाजवादतर्फ देशलाई अघि बढाउन म सदनमा गएर आवश्यक नीति र नियम निर्माण गर्नेछु।

हिजाे जनयुद्धका बेला गरिब, पीडित, विभिन्न जातजाति, धर्मावलम्बी, कृषक लगायत जनतालाई दिएका वाचा १८ वर्ष बितिसक्दा पनि ती वाचा पूरा हुन नसकेको यथार्थ सबैका सामु छ। रोल्पाबाट एकै पटक ११ जना सांसद निर्वाचित भइ प्रधानमन्त्रीदेखि उपराष्ट्रपति, सभामुख र मन्त्रीसमेत बन्दा जनतामा जुन खालकाे राम्राे सन्देश गएकाे थियाे, तर रोल्पाले अपेक्षित विकास र उपलब्धि पाउन नसक्दा त्यसले राम्राे सन्देश दिएन । यो अवस्था अत्यन्त दुःखद छ।

जनयुद्धका बेला साथ दिएका सहिद परिवार, घाइते, द्वन्द्वपीडित, पूर्व लडाकु र सम्पूर्ण रोल्पाबासीको योगदानअनुसार विकास हुन सकेको छैन। सहिदमार्ग निर्माणको प्रस्ताव २४ वर्षअघि नै सरकारलाई बुझाइएको थियो। पछिल्ला १८ वर्षमा निर्वाचित नेताहरूले यसै सहिदमार्गलाई चुनावी नारा बनाएर जिते, तर व्यवहारमा त्यो मार्ग पूरा गरिएन।

पछि जनताले भ्रष्टाचार, सुन तस्करी, बेइमानी र ठगीका घटनामात्र मात्र पाउदा त्यसले राम्राे सन्देश दिएन। यसले रोल्पाबासीलाई ठूलो पीडा दिएको छ। यही पीडालाई सम्बाेधन गर्ने नेतृत्व आवश्यक छ। जनताको नेतृत्व कस्तो हुनुपर्छ, जनतासँग गरेका वाचा कसरी पूरा गर्नुपर्छ र जनताको पीडालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा म महसुस गराउन चाहान्छु ।

म रोल्पाका विभिन्न स्थानमा पुग्दा शिक्षा, स्वास्थ्य, सडक जस्ता अत्यावश्यक विकासका काम अझै अलपत्र अवस्थामा रहेको देखेको छु। यी सबै विषय अघिल्ला चुनावमा नारामा त परे, तर जनताले पाएको उपलब्धि भने आश्वासनमै सीमित रह्यो।

अब म सदनमा गएर नेतामा हुनुपर्ने गुण र संस्कार के हाे त, रोल्पा किन विकासमा पछि पर्‍यो भन्ने प्रश्न जनतालाइ महसुस गराउन चाहान्छु। नेतृत्व लिएपछि कसरी जनताको वास्तविक नेता बन्न सकिन्छ भन्ने उदाहरण म आफैँ प्रस्तुत गर्नेछु। त्यसैले म रोल्पाबासीको भरोसा बोकेर यो निर्वाचनमा आएको हुँ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस