दाङ, माघ २६ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित बर्गदुवामा निर्माण सम्पन्न भएको ३ सय शैयाको शिक्षण अस्पतालले आफ्नो सेवा सुरु गर्ने भएको छ। ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नारासहित सञ्चालनमा आएको संजीवनी टिचिङ हस्पिटलले यही माघ २८ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार, संजीवनी टिचिङ हस्पिटलले दाङसहित आसपासका जिल्ला तथा प्युठान, रोल्पा, रुकुम पूर्व र पश्चिमलगायत क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। हाल अस्पतालमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, मानसिक तथा नसा रोग, छाला तथा यौन रोग, शिशु तथा बालरोग, मुटुरोग, रेडियोलोजी, इएनटी, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापीसम्बन्धी सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो।
अस्पतालले क्रिटिकल केयर सेवाअन्तर्गत आईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू, एचडीयू तथा डायलासिस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। रेडियोलोजी सेवातर्फ डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, सिटी स्क्यान, एमआरआई, इन्टरभेन्सनल इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा उपलब्ध छन्।
यसका साथै अस्पतालमा प्याथोलोजी ल्याब, फार्मेसी, ब्लड बैंक, एम्बुलेन्स सेवा तथा २४सै घण्टा आपतकालीन र प्रयोगशाला सेवा सञ्चालनमा रहेको छ।


