ट्राफिक प्रहरीद्धारा चाडपर्ब बिशेष सुरक्षा योजना लागु

नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको महाशाखाले जनाएको छ । चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने बिभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा हुने सवारी चाप व्यबस्थापन र दुर्घटना न्युनिकरणको लागी चेकजाँचलाई समेत कडाई पार्ने उहाले बताउनुभयो । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । चाँडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ती परिचालन गर्ने योजना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस