परिषद्को ८५औँ एकल रचना वाचन शृंखलामा साहित्यकार जनक विकका कविता गुन्जिए

घोराही, असार २६ । राप्ती साहित्य परिषद् दाङ शाखाको ८५औँ एकल रचना वाचन शृंखलामा साहित्यकार जनक विकले आफ्ना सिर्जना वाचन गर्नुभएको छ। परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विकले १२ वटा कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. गिरीले कविमा कविता सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने बताउनुभयो। उहाँले साहित्यकार विकलाई सिर्जनात्मक कर्ममा सक्रिय, अध्ययनशील तथा प्रतिभाशाली युवा साहित्यकारका रूपमा प्रशंसा गर्दै आफ्ना अनुभूतिलाई प्रभावकारी ढंगले कवितामार्फत अभिव्यक्त गर्न सफल भएको उल्लेख गर्नुभयो।

समाजका विविध पक्षलाई समेटेर कविता लेखिएको उल्लेख गर्दै उहाँले दाङका कविताबारे छुट्टै कवि गोष्ठी आयोजना गरी गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “गतिविधिले मात्रै साहित्य समृद्ध र स्तरीय बन्दैन,” उहाँले भन्नुभयो। विशिष्ट अतिथि तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालले विकका कविता गहकिला र समाज रूपान्तरणको अभियानमा सहयोगी रहेको बताउनुभयो। उहाँले विकको लेखनले उहाँलाई आँटिलो युवा स्रष्टाका रूपमा स्थापित गरेको धारणा व्यक्त गर्नुभयो।

साथै, वाचनकलामा कहाँ जोड दिने र कहाँ लय मिलाउने भन्ने विषयमा थप अभ्यास गर्न सुझाव दिनुभयो। कार्यक्रममा समीक्षक तथा प्रगतिशील लेखक संघ दाङका जिल्ला सचिव पुरन शर्माले वाचन गरिएका कवितामा राष्ट्रप्रेम, न्याय, समानता तथा स्वदेशमै बसेर देशका लागि योगदान गर्नुपर्ने सशक्त सन्देश रहेको बताउनुभयो।

उहाँका अनुसार कविताले देशको वर्तमान अवस्था, राजनीतिक चेतना, सकारात्मक परिवर्तन र समाजलाई सही दिशा दिने उज्यालो बाटोसमेत प्रस्तुत गरेका छन्। सोही अवसरमा राप्ती साहित्य परिषद्ले साहित्यकार जनक विकलाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस