‘समृद्ध लुङ्ग्री, सुखी लुङ्ग्रीबासी’को लक्ष्यसहित २१औँ गाउँसभा सम्पन्न, अध्यक्ष थापाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

रोल्पा, जेठ ३१ । लुङ्ग्री गाउँपालिकाको २१औँ गाउँसभा अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष भरत कुमार थापाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन, वातावरण संरक्षण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले संविधानले प्रदान गरेका अधिकार, स्थानीय तहको दोस्रो आवधिक योजनाका लक्ष्य, निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धता तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। उहाँले “समृद्ध लुङ्ग्री, सुखी लुङ्ग्रीबासी” को दीर्घकालीन सोचलाई साकार पार्न स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, उत्पादनमुखी कार्यक्रमको विस्तार र समावेशी विकासलाई केन्द्रमा राखिएको उल्लेख गर्नुभयो।

अध्यक्ष थापाले नेपालको राजनीतिक परिवर्तन, लोकतान्त्रिक आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ गर्दै विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो।

उहाँका अनुसार गाउँपालिकाको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीकरण गरिनेछ। रैथाने बाली संरक्षण, उत्पादन वृद्धि, बजारीकरण, कृषि बिमा, माटो परीक्षण, जैविक मलको प्रयोग, सिँचाइ विस्तार, कृषि उपज सङ्कलन केन्द्र सञ्चालन तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइनेछ। युवालाई कृषि तथा उद्यमशीलतामा आकर्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने नीति अवलम्बन गरिएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विद्यालय पूर्वाधार विकास, सूचना प्रविधिको विस्तार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक क्षमता विकास, विद्यालय अनुगमन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका कार्यक्रम सञ्चालन गरिने बताइएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार र उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

स्वास्थ्य क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थाको स्तरोन्नति, पोषण सुधार, सुरक्षित मातृत्व कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य बिमा विस्तार तथा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने नीति लिइएको छ। पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप सुनिश्चितता तथा घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रमलाई समेत निरन्तरता दिइने अध्यक्ष थापाले बताउनुभयो।

पूर्वाधार विकासतर्फ सडक, पुल, खानेपानी, सिँचाइ, सार्वजनिक भवन तथा बस्ती विकासका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। गाउँपालिकाभित्रका सबै वडामा सडक पहुँच विस्तार, निर्माण भएका संरचनाको संरक्षण तथा मर्मतसम्भार, खानेपानीको गुणस्तर सुधार र ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पर्यटन विकासलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिँदै गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनेछ। पर्यटन गुरुयोजनाअनुसार आवश्यक पूर्वाधार निर्माण, प्रचार–प्रसार तथा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको छ।

सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको विस्तार, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने अध्यक्ष थापाले बताउनुभयो। सेवा प्रवाहलाई नागरिकमैत्री, सहज र छिटोछरितो बनाउन विद्युतीय प्रणालीमार्फत अधिकांश सेवा सञ्चालन गरिने तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ। वृक्षारोपण, प्राकृतिक स्रोतको संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण, जलाधार संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अध्यक्ष थापाले संघीय र प्रदेश सरकार, निजी क्षेत्र, सहकारी संस्था, गैरसरकारी संस्था तथा समुदायसँग सहकार्य गर्दै विकास निर्माणका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाको समग्र विकासका लागि सबै पक्षको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रम सफल कार्यान्वयनमा सहयोग गर्न गाउँसभा सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभयो।

अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी आगामी आर्थिक वर्षको बजेट तथा योजना पारित गर्ने प्रक्रिया अगाडि बढाइने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस